त्रिशूली नदीमा खसेका यात्रुको खोजी कार्यलाई तीव्रता दिन प्रचण्डको निर्देशन

pranchand_parliament

काठमाडौं / गएराति पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बसका यात्रुहरुको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनका लागि प्रश्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री दाहालले सो विषयमा आफूले चितवन जिल्ला प्रशासन कार्यालय र त्यहाँको स्थानीय निकायलाई सचेत गराउँदै खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएको बताएका हुन्।

उनले जनतालाई विपद्बाट जोगाउन आफूले गृह प्रशासन र सम्बन्धित निकायलाई पनि तयारी अवस्था रहन सचेत गराएको बताए। प्रधानमन्त्री दाहालले मुलुक विपद्मा परेका बेला आफूलाई हटाउने दुःखद् प्रयास भएको पनि बताए।

Advertisement:pranchand_parliament

दाहालले भने, ‘अविरल वर्षा, बाढी, पहिरोको कारण चितवन नारायनघाट-मुग्लिनको बीचमा, कास्की, म्याग्दी लगायतका स्थानामा ठूलो धनजनको क्षति भएको छ। यस्तो बेलामा मैले नेपाली सेना, गृह प्रशासन, विपद व्यवस्थापन, अनि सेक्युरिटी अंगका सबै प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर बाढी पहिरोबाट भएको क्षति सम्भावित क्षतिको न्यूनीकरण, रोकथाम कसरी गर्न सकिन्छ भन्ने बारेमा यो प्रक्रिया सुरु भएपछि पनि पहल गरिएको तथ्यमा यहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छु। आज मात्रै पनि गृह प्रशासन र सम्बन्धित निकायहरुलाई उच्च सतर्कता र हुनसक्ने जति तयारी गर्न निर्देशन गरेको छु। मुग्लिन नारायणघाटको बीचमा लेदोसहितको पहिरोले दुई वटा बस बगाएपछि मैले चितवन जिल्ला प्रशासनसँग, त्यहाँको महानगरपालिकासँग बिहान मात्रै कुरा गरेर स्थिति के छ, खोजी र उद्धारको निम्ति तदारुपताका साथ खोजी गर्न निर्देशन दिएको छु।’

प्रधानमन्त्री दाहालले आफूले वर्षातका कारण थप जोखिम हुन नदिन उच्च सतर्कता अपनाउन समेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस् :