कांग्रेस र एमालेबीचको छैटौँ पटक सत्ता सहकार्य, ओली चौथोपटक प्रधानमन्त्री बन्दै

kp-oli-samsad

काठमाडौं / नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्य भएसँगै केपी शर्मा ओली चौथोपटक नेपालको प्रधानमन्त्री बन्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेस र एमालेले शुक्रबार राति नै ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका छन्। एमाले संसदीय दलका नेता ओली आइतबार मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त हुनेछन्।

Advertisement:kp-oli-samsad

कांग्रेसका ८८, एमालेका ७७, जसपा ७, जसपा नेपाल पाँच, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्रसहित गरी दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा ओली प्रधानमन्त्री बन्न लागेका हुन्।

ओली पहिलोपटक २०७२ असोज २४ गते प्रधानमन्त्री भएका थिए। संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले उनले १० महिना सरकार सञ्चालन गरे ।

०७४ मा एमाले–माओवादीबीचको वाम गठबन्धन बनाएर चुनावमा गए। करिब दुई तिहाइनजिक बहुमत ल्याएर २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बने। ०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो।

पार्टीमा किचलो उत्पन्न भएपछि २०७७  पुस ५ मा उनले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे। सर्वोच्च अदालतले ०७७ फागुन ११ गते विघटन असंवैधानिक भन्दै पुनःस्थापना गरिदियो।

७८ वैशाख २७ मा ओलीको सरकारले सदनमा विश्वासको मत गुमायो। त्यतिवेला उनले तीन वर्ष तीन महिना सरकार चलाए।

सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरिन्। त्यसका लागि वैशाख ३० गतेसम्मको समय दिइएको थियो। कुनै पनि दलले बहुमत पुर्‍याउन नसकेको भन्दै राष्ट्रपतिले ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गरिन्।

तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका ओलीले ०७८ जेठ ८ गते फेरि प्रतिनिधिसभा विघटन गरिदिए।  असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्नुका साथै कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्‍यो।

‌ओलीको तेस्रो कार्यकाल दुई महिनाको मात्र रह्यो।

प्रतिक्रिया दिनुहोस् :