ओलम्पिकमा सहभागी हुन नेपाली खेलाडी पेरिस जाँदै

khelkud sports news

ललितपुर / फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ३३ औँ गृष्मकालिन ओलम्पिकमा सहभागी हुन सोमबार नेपाली खेलाडी त्यसतर्फ प्रस्थान गर्दैछन्।

आगामी शुक्रबार शुरु हुने प्रतियोगिताका लागि नेपालको तर्फबाट ६ खेलका ७ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

Advertisement:khelkud sports news

नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठका अनुसार नेपाली खेलाडी र अफिसियल सोमबार पेरिस जानेछन्।

पेरिस ओलम्पिकमा एथ्लेटिक्सबाट सन्तोषी श्रेष्ठ, जुडोबाट मनिता श्रेष्ठ प्रधान, सुटिङबाट सुस्मिता नेपाल, टेबलटेनिसबाट सान्टु श्रेष्ठ, ब्याटमिण्टनबाट प्रिन्स दाहाल, पौडीबाट एलेक्जेण्डर (एलेक्स) शाह र डुवाना लामाले सहभागिता जनाउँदैछन्।

एथ्लेटिक्सकी सन्तोषी, जुडोकी मनिता, सुटिङकी सुस्मिता र  ब्याटमिण्टनका प्रिन्स काठमाडौंबाट सोमबार पेरिसतर्फ लाग्नेछन्।

टेबलटेनिसका सान्टु , पौडीका एलेक्स र डुवाना विदेशमा प्रशिक्षणमै ब्यस्त भएकाले उनीहरू त्यतैबाट पेरिसमा पुग्ने कार्यकारी सचिव श्रेष्ठले जानकारी दिए।

यसअघि शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले गरेको विदाइ कार्यक्रममा सन्तोषी, मनिता,सुस्मिता र प्रिन्स मात्र सहभागी थिए।  ​

एलेक्जेण्डर अमेरिकामा , सान्टु अष्ट्रेलियामा र डुवाना थाइल्याण्डमा रहेका छन्। पेरिस ओलम्पिकमा ७ खेलाडीसहित ३७ जना नेपाली टोली जाने तयारी भइरहेको छ।

जुन २६ तारिखमा हुने उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका अन्य ३ जनालाई कोटा छुट्याइए पनि यसको टुंगो लागिनसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले बताए।

घिसिङले सेफ दी मिसनको जिम्मेवारी सम्हाल्नेछन्। उनी शनिबार नै त्यसतर्फ लाग्नेछन्।

ओलम्पिकमा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठसहित उनीहरू प्रत्येकका लागि २–२ जनाको कोटा छ।

पृथ्वीबहादुर पाण्डे नेपाल ओलम्पिक कमिटीको गेष्टका रूपमा पेरिस जाँदैछन्।

​एनओसी पदाधिकारी चतुरानन्द वैद्य ओलम्पिक एट्याचीका रूपमा र कार्यकारी सचिव सुजनलाल श्रेष्ठ वेलफेयर अफिसरका रूपमा पेरिस जाने टोलीमा  समावेश छन्।

प्रतियोगितामा एथलेटिक्स प्रशिक्षक कान्तिकुमार महतो यादव, पौडी प्रशिक्षक नयना शाक्य, सुटिङ प्रशिक्षक प्रदीप खाती, जुडो प्रशिक्षक देवु थापा र टेबल टेनिस प्रशिक्षक राजेन्द्र कपाली पनि जाँदै छन्।

ब्याटमिन्टन खेलाडी प्रिन्स भने प्रशिक्षकबीनै पेरिसमा खेल्न जाँदै छन्।

यस्तै टिम अफिसियलका रूपमा अधिकांश ओलम्पिक कमिटीकै पदाधिकारी जाँदैछन्। टोलीमा ​अशोकरत्न बज्राचार्य, दीपकहर्ष बज्राचार्य, रामजीबहादुर श्रेष्ठ, पुष्पदास श्रेष्ठ , ज्योति राणा, प्रकाश कुसरी, पिताम्बर तिम्सिना र राखेपका कर्मचारी रिखिराम पोखरेल छन्।

डा. नविसमानसिंह प्रधान मेडिकल डाक्टरका रूपमा पेरिस जानेछन्। यस्तै दुई पत्रकार पनि पेरिस ओलम्पिकमा जानेछन्।

nepali_olympic_teem

कुन खेलाडीले कुन खेलमा प्रतिस्पर्धा गर्दै छन्

संगीना बैद्य र दिपक विष्टपछि ओलम्पिकमा छनोट भएर पुग्ने कीर्तिमानी बनाएका स्यान्टुले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन्। सान्टु श्रेष्ठ विभिन्न छनोट चरण पार गरेर पेरिस ओलम्पिकमा छनोट भएका हुन्। छनोटमा विपक्षीलाई हराउँदै ओलम्पिकमा पुग्ने ७ नेपाली खेलाडीमध्ये एक मात्र खेलाडी हुन्। उनले अष्ट्रेलियामै बसेर ओलम्पिकको तयारी गरिरहेका छन्।

ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर खेलाडी प्रिन्स पेरिस ओलम्पिकमा कठिन समूहमा परेका छन्।  समूह ‘पी’ मा विश्व वरीयताको दोस्रो स्थानका डेनमार्कमा भिक्टर एक्सेलसनसँगै खेल्दै छन्।

विश्व वरीयतामा १ सय ७२औं स्थानमा रहेका प्रिन्सको समुहमा भिक्टरसँगै ४३औं वरीयताका आयरल्याण्डका नियात नुयन र  ५९औं वरीयता इजरायलका मिसा जिल्वरमन रहेका छन्। प्रिन्सले पुरुष एकलमा प्रतिस्पर्धा जनाउनेछन्।श्रीलंकामा २ महिना प्रशिक्षण गरेर उनी हाल स्वदेशमै आएका छन्। १३ औँ सागकी स्वर्णधारी सन्तोषीले महिला म्याराथनमा भाग लिँदै छिन्। उनले नेपालमै बसेर तयारी गरिरहेकी छिन्।

एशिया महादेशको कोटामा र्‍याङ्किङमा बढी भएर ओलम्पिकका लागि छनौट भएकी जुडोकी मनिता श्रेष्ठले पेरिस ओलम्पिकमा ५७ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्।

वाइल्ड कार्ड मार्फत पेरिस ओलम्पिकमा स्थान बनाएकी सुटिङकी सुष्मिता नेपालले पेरिस ओलम्पिकमा १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। हाल नेपालमा रहेर जुडोकी मनिता र सुटिङकी सुस्मिताले पनि प्रशिक्षण गरिरहेका छन्।

हाल अमेरिकामा प्रशिक्षण गरिरहेका पौडीका एलेक्जेण्डर (एलेक्स) शाहले १ मिटर फ्री स्टायलमा प्रतिस्पर्धा गर्नेछन्  । यस्तै थाइल्याण्डमा रहेर प्रशिक्षण गरिरहेकी पौडीकी डुबाना लामाले २०० मिटर फ्रि स्टाइलमा भाग लिँदै छिन्।

पुरुषभन्दा महिला खेलाडी धेरै

पेरिस एसियाडमा नेपालबाट पुरुष भन्दा महिला खेलाडी बढी हुने भएका छन्। १९८८ को सियोल ओलम्पिकबाट नेपालका महिला खेलाडी ओलम्पिकमा सहभागी हुन थालेका थिए।

सन् १९९२ को बार्सिलोना ओलम्पिक यता ओलम्पिक जाने नेपाली खेलाडीमा पुरुषभन्दा महिला खेलाडी नै बढी हुन थालेका छन्। योपटक ६ खेलका ७ खेलाडीमा ४ जना त महिला खेलाडी नै छन्। पौडीबाट डुबाना लामा, एथ्लेटिक्सबाट सन्तोषी श्रेष्ठ, जुडोबाट मनिता श्रेष्ठ प्रधान, सुटिङबाट सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस् :