विषालु च्याउ सेवनले बर्सेनि २०-२५ जनाको मृत्यु, कसरी चिन्ने जंगली च्याउ?

काठमाडौँ / विषालु च्याउ खाँदा नेपाल बर्सेनि मानिसहरूको मृत्यु भएको घटना बेला बखत बाहिरिन्छ। विशेष गरी वर्षातको समयमा तराई भेगमा भन्दा पहाडी भेगमा जंगलमा पाइने च्याउ खाँदा स्वास्थ्यमा समस्या देखा पर्छ जसकारण मानिसको मृत्यु हुने गरेको छ।

नेपालमा बर्सेनि विषालु च्याउको सेवनबाट कति मान्छेको मृत्यु हुन्छ भन्ने यकिन तथ्यांक नभए पनि सरदर बर्सेनि वर्षायाम शुरू भएपछि विषालु च्याउ खाएका कारण औसत २०-२५ जनाको मृत्यु हुने गरेको र सयौँको संख्यामा गम्भीर बिरामी हुने गरेको पाइन्छ।

Advertisement:

जंगलमा गएर टिपेर ल्याएर घरमा पकाएर खाइने हुँदा प्राय विषालु च्याउको असरले एकै परिवारका सदस्यहरुले ज्यान गुमाएको घटनाहरु समेत बाहिरिने गर्छ।

कस्तो ठाउँमा पाइन्छ विषालु च्याउ?

वनस्पति विभागका अनुसार नेपालमा करिब १३०० प्रजातिका जंगली च्याउ पाइन्छन्। जसमा १०० वटा विषालु छन्। अधिकांश विषालु च्याउहरू हेर्दा अति आकर्षक र बनोटका कारण टिपेर खाऊँ खाऊँ लाग्ने खालका हुन्छन्। प्रायजसो विषालु च्याउको छातामा काँडा वा गिर्खा, डाँठमा औँठी र फेदमा कचौरा जस्तो भाग हुन्छ।

नेपालमा खासगरी विषालु च्याउ पहाडी क्षेत्रमा पाइने गर्छ। मानिसहरु पनि विज्ञहरुको सल्लाह सुझावमा भन्दा  परम्परागत  अनुभवका आधारमा नै यसको  संकलन गर्ने गरिएको छ। वनस्पति विभागका अनुसार सकभर विषालु च्याउ जंगलमा साल, सिसौ, गुराँस, कटुस, चिलाउने, खयर, सल्लोका रूखहरुमा उम्रिने गर्छ। जसले गर्दा सकभर यस्ता रूखहरुमा उम्रिएको च्याउ खानु हुँदैन।

विषालु च्याउ  सेवनपछि के हुन्छ?

सामान्यतया विषालु च्याउ सेवन गरेको ५-६ घण्टादेखि शरीरमा असर देखिन थाल्छ। जसको प्रमुख लक्षण भनेको फुड पोइजनको जस्तै बान्ता आउने, पेट दुख्ने पखाला लाग्ने जस्ता लक्षण देखिने लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डा.सुमन आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘विषालु च्याउको सेवनबाट हाम्रो शरीरमा देखिने पहिलो लक्षण भनेको फुड पोइजन हो, सबैलाई एकै खालको लक्षण नदेखिए पनि मुख्य लक्षण भनेको फुड पोइजनको जस्तै बान्ता आउने, पेट दुख्ने पखला लाग्ने नै हो।’

विषालु च्याउको प्रजातिअनुसार बिरामीलाई देखिने लक्षणहरू पनि फरक फरक हुने र त्यसमा मुख्य असरहरुमा थकान, बान्ता आउला आउला जस्तो हुने, बान्ता हुने, पेट दुख्ने,आँखा तिर्मिर हुने, होस गुमाउने र नसा सेवन गरे जस्तो हुने, हातखुट्टा बाउडिने, र्‍याल चुहाउने, पिसाबको रंग कालो हुने, मुटुको चाल असामान्य हुने, रक्तचाप कम हुने जस्ता लक्षणहरु देखाउने गर्छ।

प्राय बिरामीहरु फुड पोइजनकै लक्षण लिएर अस्पताल पुग्ने गरेको बताउँछन् सरुवारोष विशेषज्ञ डा शेरबहादुर पुन। ‘विषाक्त च्याउ सेवन गरेको केही समयपछि फुड पोइजनिङ लगायतको समस्या देखिए पनि बिरामीहरु प्राय इमरजेन्सी आउनुहुन्छ’ उनले भने।

यदि हामीले खाएको च्याउ विषाक्त रहेछ र यसको समयमै उपचार गरिएन भने च्याउको विषाक्त तत्वले मिर्गौला, कलेजो जस्ता ठूला अंगहरुलाई असर गरी शरीरको  अन्त्यमा मानिसको मृत्युसमेत हुने गर्छ।

शरीरको प्रतीक्षा कमजोर भएका, बालबालिकाहरू तथा वृद्धाहरुमा विषाक्त च्याउको असर छिटो देखाउने भए पनि युवा तथा कुनै पनि स्वास्थ्य समस्या नभएकाहरुमा भने विषक्त च्याउ सेवन गरेको २४ घण्टापछि पनि लक्षण देखाउने गर्छ।

प्राय: खानासँग तरकारीको रुपमा खाइने च्याउ परिवारका सबै सदस्यसँग बसेर खाइने हुँदा विषाक्त च्याउ भएमा सिंगो परिवारकै स्वास्थ्यमा असर गर्छ। सकभर आफूखुसी जंगली च्याउ टिपेर ल्याएर खानुभन्दा विज्ञहरुले खान योग्य गरेको च्याउ मात्रै सेवन गर्न स्वास्थविद्‌हरूको सुझाव छ।

प्रतिक्रिया दिनुहोस् :