काठमाडौँवासीलाई वैकल्पिक माध्यमबाट पानी वितरण गर्न खानेपानी मन्त्रीको निर्देशन

padip_uadav_minister

काठमाडौँ / खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म हाललाई वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन्।

आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।

Advertisement:padip_uadav_minister

उनले काठमाडौँवासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह समेत गरे। उनले भने, “मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौँमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु।”

मन्त्री यादवले हाल काठमाडौँमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए। उनले बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन आग्रह गरे।

मन्त्री यादवले काठमाडौँमा आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइनको मर्मत तथा पुनःनिर्माण, डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजना पनि सुनाए। उनले भने, “पानी वितरणलाई प्रभावकारी बनाउन र जनतालाई सन्तुष्ट पार्न हामीले डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्नेछौँ।”

मन्त्री यादवले काठमाडौँमा मात्र नभइ देशका अन्य स्थान, विशेष गरी तराई-मधेसमा देखिएको पानीको समस्याप्रति पनि चिन्ता व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस् :