ओलीले विश्वासको मत लिँदै गर्दा सात बुँदे सहमति पढेर सुनाउनु पर्छ : गगन थापा

gagan-kumar-thapa

काठमाडौं /  सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुँदैन कि भन्ने संशय हटाउनुपर्ने बताएका छन्।

महामन्त्री थापाले असार ६ गते (भोलि) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै गर्दा सोबारे संशय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने बताएका हुन्।

Advertisement:gagan-kumar-thapa

जय नेपाल फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको जिकिर गरे।

उनले काँग्रेसले सो समझदारी कार्यान्वयन गरेर अघि बढ्ने विश्वास दिलाउँदै एमाले सो को पनि विश्वास दिलाउनुपर्ने धारणा व्‍यक्त गरे।

उनले भने, ‘आजको रियालिटी के हो भने नेपाली काँग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ। त्यो समझदारीको आधारमा हामी सत्तामा छौं। अब यसको पुष्टि हाम्रो याक्सनबाट हुनुपर्छ। हाम्रो कामबाट हुनुपर्छ। हामीले किन गर्यौं‍ ? भोलि प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्दै हुनुहुन्छ। त्यसकारण अहिले धेरै कुरा भन्न उपयुक्त नहोला। किनकी उहाँले नै भन्नुहोला। सात बुँदाको बीचमा भनिरहेको छ। अब यो सात बुँदा के हो भन्नेबारे भोलि त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु।’

महामन्त्री थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैँभरी झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले काँग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको पनि उल्लेख गरे।

उनले आफू भने एमाले माओवादीसहितका दलहरु मिलेर बनेको सरकारलाई चलाउने पक्षमा नभए पनि दाहाल स्वयंले नयाँ सरकार बनाउने परिस्थिति निर्माण गरेको बताए।

महामन्त्री थापाले भने, ‘माओवादी र एमाले मिलिसकेपछि माओवादी, एमाले, घण्टीमण्टी सबै मिलेर सरकार चलाउन अहिले। २०८४ सालसम्म हामी थपक्क प्रतिपक्षमा बस्नुपर्छ भन्ने नै मेरो सोच थियो। तर एउटा यस्तो परिस्थिति बन्यो, पुष्पकमल दाहाल नेकपा माओवादीको अध्यक्षको एकदमै धरै बढी चकचकको कारणले गर्दाखेरी नै एउटा यो परिस्थिति निर्माण भयो। यो परिस्थिति आयो। यो परिस्थितिमा काँग्रेस र एमालेको बीचमा एउटा साझेदारी निर्माण भयो।’

महामन्त्री थापाले दुई ठूला दलहरुको विश्वास जनतामा गुम्न नदिन पनि दुवै दलबीच भएको सहमति कार्यान्वयनमा आशंका गर्ने अवस्था आउन दिन नहुने तर्क गरे।

प्रतिक्रिया दिनुहोस् :