भीमेश्वर मन्दिरको शिलामा पसिना, बायाँभागमा पसिना आएकाले जनतालाई कष्ट हुने
काठमाडौँ / दोलखाको भीमेश्वर मन्दिरको शिलामा आज पसिना आएको छ। शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजन भेला भएका थिए। उनीहरूले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शिलाको पसिना कपासले पुछेका थिए।
त्यसरी पसिना पुछिएको कपास महाप्रसादको रुपमा ग्रहण गरिने प्रचलन छ। शिलाको ‘पसिना’ पुछेको कपास लिनेको ठूलो भीड मन्दिरमा लागेको थियो। शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगब्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पूरा हुने जनविश्वास समेत रहेको छ।
परम्परा अनुसार तान्त्रिक विधिबाट शिलामा पूजासमेत गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए। उनका अनुसार आज दिउँसो १ बजेर ४७ मिनेटबाट पसिना आउन सुरु भएर ३ बजेर ५१ मिनेटमा रोकिएको हो।
आज शिलाको बायाँभागमा पसिना आएको थियो। बायाँ भागतर्फ पसिना आउँदा जनतालाई दुख कष्ट हुने र दायाँ भागतर्फ पसिना आएमा राष्ट्र प्रमुखलाई अनिष्ट हुने जनविश्वास रहेको सिडिओ पोखरेलले बताए।
पछिल्लो पटक २०७८ वैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको थियो भने आज आएको पसिना २१औँ पटकको हो। शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ।
शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमा पूजा गर्ने प्रचलनसमेत रहेको छ। क्षमा पूजाका लागि राष्ट्रपतिबाट सामग्री पठाउने प्रचलन रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु