निजामती कर्मचारी र सुरक्षा निकायमा कार्यरत कर्मचारीको तलब मिलान गर्ने तयारी

aartha-mantralaya

काठमाडौं / सरकारले निजामती कर्मचारी र सुरक्षा निकायमा कार्यरत समान पदका कर्मचारीको तलब मिलान गर्न आन्तरिक गृहकार्य थालेको छ। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीको तलब मिलान गरी तलब वृद्धि गर्नका लागि आन्तरिक गृहकार्य थालिएको हो।
मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, गत असार १० गते सर्वोच्च अदालतले सुरक्षा निकाय र निजामती सेवाका कर्मचारीको मर्यादाव्रmमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारको नाममा परमादेश जारी गरेको थियो। यही परमादेशका आधारमा सरकारले निजामती कर्मचारीको तलब स्केल मिलान गर्ने गृहकार्य थालेको हो।

अर्थ मन्त्रालयका अनुसार अदालतको फैसलाका आधारमा निजामती सेवाका कर्मचारीको तलब स्केल मिलान गर्नका लागि अध्ययन भइरहेको जनाएको छ। अर्थ मन्त्रालका प्रवक्ता उत्तरकुमार खत्रीले सर्वोच्च अदालतको फैसला अनुसार निजामती कर्मचारीको तलब मिलान गर्नका लागि अहिले अध्ययन भइरहेकाले अहिले नै कुन तहका कर्मचारीको कति तलब वृद्धि हुन्छ भनेर भन्न नसक्ने बताए।

Advertisement:aartha-mantralaya

सरकारले चालु आर्थिक वर्ष २०८१र८२ मा कर्मचारीको तलब नबढाए पनि अदालतको आदेश अनुसार शाखा अधिकृत, उपसचिव, सहसचिव स्तरका कर्मचारीको तलब मिलान गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ।

आदेश अनुसार निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको शुरु तलबमान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारीसरह हुने छ। सर्वोच्चको आदेशमा भनिएको छ, ‘कर्मचारीको मनोबल उच्च राख्न नसकेको तथा थप अनिश्चितता सिर्जना भएकाले आर्थिक वर्ष २०८१/८२ को शुरुबाट नै सुरुको तलबमानमा आवश्यक समायोजन गरी विभेद र असमानता सम्बोधन हुनुपर्ने नै देखिन्छ।’ अहिले समान मर्यादाक्रमममा अगाडि रहेका निजामती सेवाका सहसचिव तथा सो सरहका अन्य पदमा रहेका कर्मचारीभन्दा मर्यादाक्रमममा पछि रहेका सुरक्षा निकायका अधिकारीको तलब बढी छ ।

सहसचिव मर्यादाक्रमको १६ औँ स्थानमा छ, शुरु तलब ५६ हजार ७८७ छ तर १७ औँ नम्बरमा रहेका सहायक रथी, प्रहरी नायब महानिरीक्षकलगायतको पारिश्रमिक ६० हजार ९५० रुपैयाँ छ ।आदेशअनुसार अब तलब पुनरवलोकन हुनेछ।

यस्तै समान मर्यादाक्रममा रहेका निजामती सेवाका उपसचिव वा सो सरहका कर्मचारी र प्रमुख सेनानी र प्रहरी उपरीक्षकको तलब फरक छ। उपसचिवको शुरु तलबमान ४८ हजार ७३७ रुपियाँ छ । सुरक्षा निकायमा ५२ हजार २७९ रुपियाँ छ ।

यस्तै निजामती सेवाका शाखा अधिकृत वा सो सरहका अन्य कर्मचारीको शुरु तलबमान ४३ हजार ६८९ रुपियाँ छ । मर्यादाव्रmममा पछि रहेका उपसेनानीको तलब ४५ हजार १०३ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस् :