उपसभामुख इन्दिरा रानामाथि तत्काल छानबिन गर्न माग

rajjye bewasta samiti indira rana

काठमाडौँ / सांसदहरूले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामाथि तत्काल छानबिन गर्न माग गरेका छन्।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरूले उपसभामुख रानामाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानबिन गर्न माग गरेका हुन्।

Advertisement:rajjye bewasta samiti indira rana

सांसदहरूले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधिसभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन्।

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताइन्। उनले उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरूको शिर निहुरिएको बताइन्। उनले छानबिन गरी निर्दोष भए दोषबाट मुक्त गराउनुपर्ने र दोषी देखिएमा कानूनी कठघरामा उभ्याउनुपर्ने माग गरिन्।

न्यौपानेले भनिन्‚ ‘कस्तो लज्जास्पद विषय। यो विषयमा वास्तवमा हामी सांसदहरूले शिर निहुराउनुपर्ने छ। देशको सम्मानित पदमा बस्नुभएको व्यक्तिले गर्नुभयो कि गर्नुभएन थाहा छैन। तर यसको छानविन हुनुपर्छ कि पर्दैन ? गर्नुभएको छैन भने पनि उहाँ त्यो दोषबाट मुक्त हुनुपर्छ। हामीलाई हेर्ने बाहिरको देशले नेपालको उपसभामुख मानव बेचबिखनको धन्दामा यसरी अग्रसर भएको छ भनेर बाहिर नभनोस्। यदि त्यसमा हुनुहुन्न भने पनि छानबिन होस् र दोषबाट मुक्त होस्। उपसभामुख भनेर उहाँले त्यसबाट उन्मुक्ति पाउनु हुँदैन।’

बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी(एमाले)का सांसद वासुदेव घिमिरेले उपसभामुखको विषय सिंगो संसद्सँग जोडिने विषय भएको भन्दै यस प्रकरणमा छानबिन गर्नुपर्ने र दोषी देखिएमा कानूनी कारबाही गर्नुपर्ने बताए।

नेकपा(एमाले)को सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताए। उनले कानूनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अघि बढाउनुपर्ने समेत माग गरे।

उपयुक्त आधारसहित मात्रै उपसभामुखमाथि छानबिनको निर्णय गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस् :