वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या बढ्दो

coffin nepali dead body

काठमाडौं / विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएको  छन्।

यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो। ​यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ।

Advertisement:coffin nepali dead body

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्यु कुण्डमा होमिन पुगेका छन्। तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेमध्येबाट दैनिक औसतमा चार वटा शव काठको बन्द बाकसमा विदेशबाट आउने गरेको छ।

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, बोर्डका अनुसार गत आवमा साउदी अरबबाट ३४९, मलेसियाबाट ३४५, कतारबाट २४० र संयुक्त अरब इमिरेटस (यूएई) बाट २३३ नेपालीको शव नेपाल ल्याइएको छ। यस्तै सो अवधिमा दक्षिण कोरियाबाट २८, कुवेतबाट ७२, इजरायलबाट १९, बहाइनबाट १७, रोमानियाबाट १२, जापानबाट १६ शव नेपाल आइपुगेको छ। क्रोएसिया १०, साइप्रस दुई, इजरायल दुई, उज्बेकिस्तान दुई र जोर्डन तीन र इजिप्ट, हङकङ, कजाकस्थान र यूकेबाट एक-एक शव आएको बोर्डले जनाएको छ।

आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। विभागका अनुसार गत आव २०८०/८१ मा श्रम स्वीकृति लिई सात लाख ४३ हजार ५९५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए।

बोर्डका अनुसार आव २०७९/८० मा एक हजार २०८ र आव २०८०/८१ मा एक हजार ३४६ शव नेपाल आएका छन्। जुन अघिल्लो आवभन्दा गत आवमा १३८ ले बढी हो।

वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस् :