वीर अस्पतालमा गत वर्ष २४ वटा मात्रै मिर्गौला प्रत्यारोपण

bir_hospital_tatokhabar

काठमाडौँ / मुलुककै जेठो अस्पतालको रुपमा परिचित वीर अस्पतालले एक वर्षमा २४ वटा मात्रै मिर्गौला प्रत्यारोपण गरेको छ। वीरको नेफ्रोलोजी विभाग पनि अरूभन्दा जेठो र ठूलो मानिन्छ तर स्वास्थ्यकर्मी तथा अन्य विविध कारणले मिर्गौला प्रत्यारोपण सेवाले भने सोचेअनुरुप गति लिन भने सकेको छैन।

कोभिड समयको पहिलो लकडाउन (२०७६ चैत ११ गते)बाट वीरमा प्रत्यारोपण सेवा दिईएको थिएन। त्यसको ठिक दुई वर्षपछि पुन: सञ्चालनमा आएको मिर्गौला प्रत्यारोपण सेवा हप्तामा तीन दिन मात्रै छ तर सेवा प्रभावकारी देखिएको छैन।

Advertisement:bir_hospital_tatokhabar

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले आज वीरको ३५औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘हामीले यस वर्ष २४ वटा मिर्गौला प्रत्यारोपण गरेका छौँ, भोलिका दिनमा यो सेवा अझै बढाउँदै जाने कोशिस गर्छौँ।’

पछिल्लो समय अस्पतालमा नर्सलगायतका स्वास्थ्यकर्मीको कमीले लक्ष्य अनुरुपमा प्रत्यारोपण सेवा सञ्चालन गर्न नसकिएको गुनासो छ। यस्तै वीर अस्पतालमा गत एक वर्षमा २० हजार ५२६ जनालले डाइलासिस सेवा लिएको अस्पतालले जनाएको छ।

यस्तै वीरले एक वर्षमा ३५ हजार २७६ जनालाई इमर्जेन्सी सेवा दिएको छ भने ,६ लाख १९ हजार ५१२ जनालाई ओपिडी सेवा दिएको छ। गत एक वर्षमा १८ हजार ४८६ जनाले अस्पतालमा भर्ना भएर उपचार गराएको अस्पतालले बताएको छ।

धेरै सेवा  दिन सक्ने भए पनि स्वास्थ्यकर्मीको अपुग, कम बजेटलगायतले समस्या भएको अस्पतालका निर्देशक डा. पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस् :