मंगलवार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुगेका उनले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले सबै सम्भावनाहरूलाई प्रयोग गरेर भएपनि थप गरिएको समय सीमाभित्र सो भवन निर्माण कार्य सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिए। पछिल्लो पटक थप गरिएको समय अब नौ महिना बाँकी रहेकाले त्यसमा सम्पन्न हुनेगरी कामहरूको संख्या बढाएर कामलाई तीब्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराए।
समयमै काम सम्पन्न हुनेगरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरूले निर्माण कम्पनीलाई घच्घच्याउने काम गरिरहेका उपप्रधानमन्त्री सिंहले बताए। बाँकी भएको कामलाई कन्ट्रयाक गरेको समयभित्रै सक्नका लागि काममा ढिलासुस्ती भएकाले त्यसलाई घच्घच्याउनका लागि पनि आफूहरूले काम गरिरहेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो।
२०७६ साल असोज १६ गते करिब ६ अर्ब ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित शुरु भएको सो भवन निर्माण कार्य कोभिडको कारण केही समय पछि धकेलिएको शहरी विकास मन्त्रालयले जनाएको छ।
यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण कार्य छिटो सक्नेगरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराउँदै आएका छन्।