पेरिस ओलम्पिक : अमेरिका र चीनको समान ३३ स्वर्ण
पेरिस ओलम्पिक २०२४मा सर्वाधिक स्वर्ण पदकका लागि अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धा चलेको छ। पदक तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले ३३ स्वर्ण जित्दा दोस्रो स्थानमा रहेको चिनले पनि ३३ वटा स्वर्ण पदक पुर्याएको छ।
अमेरिका ३९–३९ वटा रजत र कास्य पदक जितेर कुल १११ पदकसहित शीर्ष स्थानमा छ। समान स्वर्ण पदक जितेको चीनले २७ रजत र २३ कास्य पदक जितेको छ। १८ स्वर्णसहित अस्ट्रेलिया तेस्रो, १६ स्वर्णसहित जापान चौथो र १४ स्वर्णसहित बेलायत पाँचौ स्थानमा रहँदा समान १४ स्वर्ण जितेको आयोजक फ्रान्स छैटौँ स्थानमा छ।
जारी ओलम्पिकमा अहिलेसम्म कुल ६० देशले स्वर्ण पदक जित्दा कुनै न कुनै पदक जित्ने देशको संख्या ८६ पुगेको छ। यसैबीच अल्जेरियाकी बक्सर इमान खलिफले स्वर्णपदक जितेकी छिन्।
एक वर्षअघि विश्व बक्सिङ च्याम्पियनसिपमा लैंगिक मापदण्ड परीक्षणमा अयोग्य भएकी खलीफले योपटक पेरिस ओलम्पिकमा ६६ किलोग्राम समूहमा स्वर्ण पदक जितेकी छन्। उनले चीनकी बक्सर याङ लियुलाई पराजित गरेकी थिइन्।
पेरिस ओलम्पिकको समूह चरणमा इटलीकी बक्सर एन्जेला करिनीसँग भएको प्रतिस्पर्धापछि खलीफलाई पुरुष भन्दै विश्वव्यापीरूपमा आलोचना र विवाद भएको थियो। तर ओलम्पिक कमिटीले थप कुनै पनि निर्णय नगरी उनलाई महिलाकै रुपमा नियमित खेल्न दिएको थियो।