साफ यू–२० च्याम्पियनशिपको फाइनलमा नेपाललाई हराउँदै बंगलादेश विजयी

saff champaionship final match

काठमाडौँ / दक्षिण एशियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनशिपको फाइनल खेल बंगलादेशले जितेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा बुधवार भएको फाइनलमा बंगलादेशले  घरेलु टोली नेपाललाई ४-१ गोलले सहजै पराजित गर्दै उपाधि जित्न सफल भएको हो। यससँगै बंगलादेशले पहिलोपटक साफ यू-२० उपाधि हात पारेको हो।

Advertisement:saff champaionship final match

एकपक्षीय खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले २ गोल गरे भने राबी हुसेन राहुल र पियास अहमद नोभाले १/१ गोल गरेका थिए। नेपालका लागि समीर तामाङले एक गोल फर्काए।

पहिलो हाफमा नेपालले पाएका आधा दर्जनभन्दा बढी अवसर गोलमा परिणत गर्न नसक्दा गोल अन्तर घट्न नसकेको हो।

खेलको शुरुदेखि अन्त्यसम्मै बंगलादेशको दबाब झेलेको नेपालको घरेलु मैदानमा भएको उपाधि भिडन्तमा ह्याटट्रिक गर्ने चाहना पूरा हुन सकेन। यसअघि नेपालले सन् २०१५ र सन् १०१७ मा साफ यू-२० च्याम्पियनशिपको उपाधि जितेको थियो।

दोस्रो हाफमा बंगलादेशले गोल गरेपछि दर्शकले मैदानमा पानीका बोतल फ्याँकेका थिए।

नेपालले समूह चरणको खेलमा भने बंगलादेशलाई २–१ गोलले पराजित गरेको थियो। नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनल पुगेको थियो।

बंगलादेशले भने साविक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले पराजित गर्दै फाइनल पुगेको थियो। च्याम्पियनशिपमा सार्क राष्ट्रका पाकिस्तानबाहेक ६ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस् :