काठमाडौँ / नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वार्टरफाइनलमा पराजित हुँदै बाहिरिएकी छन्।
पलेशा के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा आज (शुक्रवार) ब्राजिली खेलाडी सिल्भाना फर्नान्डेससँग भएको प्रतिस्पर्धामा १०-८ ले पराजित हुँदा उनको यात्रा टुंगिएको हो।
आजै पहिलो चरण खेलेकी उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई पिटिजीको आधारमा ३१-० ले सजिलै पराजित गरेकी थिइन्।
छनोट चरण खेलेर पेरिस पारा ओलम्पिकमा सहभागी भएकी पलेशा यसरी छनोट हुने पहिलो नेपाली खेलाडी हुन्।
गत चैतमा चीनको ताइयानमा भएको एशियाली छनोट प्रतियोगितामा स्वर्ण जितेर उनले पेरिस पारा ओलम्पिकमा प्रतिस्पर्धा सुनिश्चित गरेकी थिइन्।
उनले टोकियो पारा ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन्। टोकियो पारा ओलम्पिकमा कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा पलेशा चीनकी खेलाडीसँग पराजित भएकी थिइन्।