इन्द्रजात्रा आजदेखि सुरु

काठमाडौं / काठमाडौं उपत्यकाकै मुख्य पर्वको रुपमा मनाइने इन्द्रजात्रा आजदेखि सुरु हुँदैछ। हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि इन्द्रजात्रा विधिवत रुपमा सुरु हुन्छ। आज  बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थानको कार्यक्रम रहेको छ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनागरी परम्परागत शैलीमा मनाइने इन्द्रजात्राको लिङ्गो अर्थात् यःसिं भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीको दिन इन्द्रध्वजोत्थानगरी सुरु हुने इन्द्रजात्रा चौथी अर्थात् इन्द्रध्वज आठ दिनसम्म मनाउने गरिन्छ।

Advertisement:

यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ। इन्द्रजात्रा र यःसिं ठड्याउने प्रचलनलाई वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ।

यस वर्ष इन्द्र जात्राको मुख्य दिन असोज १ गते परेको छ।  यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने प्रचलन छ। यस दिन तल्लो टोलमा र असोज २ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ।

असोज ५ गते शनिबार नानिचा यात्रासँगै राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्रा सकिनेछ।

प्रतिक्रिया दिनुहोस् :