अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि कामनपा वडा-१६लाई

fustal-kathmandu-metro

काठमाडौँ / प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगितामा काठमाडौँ महानगरपालिका वडा नं. १६ विजेता बनेको छ। लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२को गोल अन्तरले उपाधि जितेको हो।

वडा १६ का लागि आयुष कुँवर, रविन निरौला, साजन डंगोल र श्रेयांश मानन्धरले गोल गरेका थिए। वडा १२ को एउटा आत्मघाती गोल उपहार पाएर वडा १६ को ५ गोल भएको हो। वडा १२ का लागि मनोज महर्जन र सिद्धार्थ देउलाले गोल गरे।

Advertisement:fustal-kathmandu-metro

उपाधिसँगै विजेता टोली वडा १६ ले २ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता वडा नं १२ ले १ लाख रुपैयाँ पुरस्कार पाएको छ। वडा नं. १६ का आयुष कुँवर सर्वाेकृष्ट खेलाडी र मनोज महर्जन सर्वाधिक गोलकर्ता बने।

यसैगरी वडा १६ का सुशान्त महत उत्कृष्ट गोलकिपर बने। उत्कृष्ट सबैलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। असोज १ गतेबाट सञ्चालित प्रतियोगिताको समापन खेलमा खेलाडीहरूलाई हौसला प्रदान गर्न महानगरपालिकाका प्रमुख बालेन खेल मैदानमा गएका थिए।

खेल समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले पुरस्कार प्रदान गरे।

यस क्रममा महर्जनले प्रयागराजसिंह सुवालकोसम्झना गर्दै भने,‘२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि सम्पन्न निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित सुवाल एनआरटी क्लबको संस्थापक हुनुहुन्थ्यो। उहाँको स्मरणीय राजनीतिक, खेल र सामाजिक क्षेत्रको योगदानलाई बचाइ राख्न फुटसल खेलको मद्दत गर्नेछ।’

२०८० सालबाट यो प्रतियोगिता शुरु भएको हो। योपटकको खेलमा वडा नं. ७ र २४ बाहेक अरू सबै वडा र महानगरपालिका केन्द्रबाट एउटा टोलीले भाग लिएको थियो।

प्रतिक्रिया दिनुहोस् :