साफ महिला च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

saff women team

ललितपुर / साफ महिला च्याम्पियनसिप फुटबलमा सोमबार नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।

समूह ‘बि’ मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन्। नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ।

Advertisement:saff women team

समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ।  यो खेल सेमिफाइनल पुग्नका लागि निकै महत्वपूर्ण छ।​ तुलानात्मक रुपमा नेपालभन्दा माल्दिभ्स कमजोर मानिएको छ। यधपी फिनिसिङको समस्या दोहोरिए नेपालकै लागी सेमिफाइनलमा पूग्न कठिन पर्नसक्छ।​

बराबरीले नेपाललाई बेफाइदा हुनेछ भने जितले सेमिफाइनलको बाटो सहज हुनेछ। यो खेलमा साबित्रा भण्डारीको खेल्ने या नखेल्ने टुङ्गो छैन।

तालिकामा श्रीलंका ३ अंकसहित पहिलो स्थानमा रहँदा भुटान र नेपालको १–१ अंक छ। नेपाली प्रशिक्षक राजेन्द्र तामाङले अघिल्लो भुटानसँगको खेलमा भएका कमी कमजोरी सुधारेर ३ अंक बटुल्ने बताए। नेपाल गएका ६ वटा संस्करणमा ५ वटामा उपविजेता र एउटामा सेमिफाइनलमा रोकिएको थियो।

माल्दिभ्सका मुख्य प्रशिक्षक मोहम्मद निजामले राम्रो खेल प्रर्दशन गर्ने बताए। उनले नेपालसँग कम्तिमा बराबरीका लागि खेल्ने बताए।

माल्दिभ्सले सन् २०१६ मा एक पटक सेमिफाइनल खेलेपनि त्यसयता समूह चरणबाटै बाहिरिएको छ।

नेपाल र माल्दिभ्सबीच साफ महिला च्याम्पियनसिपमा अहिलेसम्म ३ पटक प्रतिस्पर्धा भएको छ। सन् २०१० को पहिलो , सन् २०१२ को दोस्रो र सन् २०१६ को चौथो संस्करणमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भएको छ।

पहिलो संस्करणमा ६ –० ले , दोस्रोमा ५–० ले र चौथोमा ९–० ले माल्दिभ्स हारेको छ। नेपालले माल्दिभ्सबिरुद्ध २० गोल गर्दा एक गोल पनि खाएको छैन।

समूहचरणको पहिलो खेलमा प्रतिस्पर्धी पाएको भुटानविरुद्ध अहिलेसम्म २३ गोल गरेको नेपाल यो संस्करणमा आएर गोल गर्न असफल रह्यो।

यही समूह अन्तरगत सोमबार दिउँसो साढे १ बजे भुटान र श्रीलंकाबीच पनि प्रतिस्पर्धा हुनेछ। भुटान ३ अंक सहित सेमिफाइनलमा बढ्ने धुनमा हुनेछ भने श्रीलंका पनि पहिलो खेलकै नतिजा बोकेर अगाडी बढ्ने ध्याउन्नमा हुनेछ।

बराबरीले दुबैलाई फाइदा पुग्नेछ । जसले गर्दा नेपाल र माल्दिभ्सको खेल तथा समूहचरणका अन्तिम खेल निर्णायक हुनेछन्।

प्रतिक्रिया दिनुहोस् :