अमेरिकी राजनीतिमा निराशा : एउटा डेमोक्र्याट मतदाताको अनुभव

– मीलन के. शाही (न्यूयोर्क अमेरिका)

सन् २००८ मा म एक डेमोक्र्याटको रूपमा दर्ता भइसकेको मतदाता हुँ । राजनीति र नेताहरूको नीति, उनीहरूको निर्णय र प्रशासनिक क्रियाकलापमा सधैं विश्वास राखेर आफ्नो र सन्ततिको भविष्यको लागि मतदान गरिरहेको छु । यस क्रममा मैले धेरै उतार–चढाव अनुभव गरें, जसले गर्दा अहिले अमेरिकी राजनीतिप्रति निराशा महशुस भइरहेको छ ।

ओबामाको चुनावमा आशा, तर निराशा

जर्ज डब्लु बुसको राष्ट्रपतीय प्रशासन विश्वको लडाई र आर्थिक क्राइसिसमा फसेर अमेरिकी अर्थतन्त्रलाई तहस नहस बनाएको बेला अमेरिकी अर्थतन्त्र, धनजनको सुरक्षा, स्वास्थ्य बिमा र इम्मिग्रेण्ट समस्यालाई पक्कै पनि हल गर्नेछन् भन्ने बिश्वासका साथ पहिलो पटक मैले बाराक ओबामालाई मत दिएँ । ओबामाको वाकपटुता, परिवर्तनको आश्वासन र नयाँ अमेरिका बनाउने बाचा मलाई मन परेको थियो । तर, ओबामाको प्रशासनका केही नीतिहरू, जस्तै केही विदेशी मामिलाहरू र स्वास्थ्य बीमासम्बन्धी नीतिले मलाई निराश बनायो । त्यसपछि मेरो मन डेमोक्र्याट पार्टीबाट केही हदसम्म टाढिएको महसुस गरेँ ।

Advertisement:

ट्रम्पको समर्थन र विवादमा फसिएको स्थिति

ओबामा प्रशासनको केही नीतिहरूमा निराश भएपछि मैले डोनाल्ड ट्रम्पलाई समर्थन गरें । ट्रम्पको कर कटौती र अमेरिकाको अर्थतन्त्रमा नयाँ जोश ल्याउने उनको प्रतिबद्धता आकर्षक थियो । तर, ट्रम्पको प्रशासन विवादमा फस्न थालेपछि म दुविधामा परें । म राष्ट्रका लागि स्थायित्व र सुरक्षा चाहन्थें, तर विवादहरूले त्यसमा नकारात्मक प्रभाव पारे । यसले मलाई ट्रम्पप्रति पनि निराश बनायो ।

बाइडेनको प्रशासनप्रति असन्तुष्टि

ट्रम्प प्रशासनपछि जो बाइडेनलाई एकजना अनुभवी नेता र अमेरिकालाई सङ्कटबाट निकाल्न सक्ने व्यक्तित्वको रूपमा देखियो । मैले बाइडेनलाई समर्थन गरें, तर अहिलेको अवस्थामा बाइडेन प्रशासन झन् बढी समस्यामा फसेको महशुस भइरहेको छ । कर नीति, महँगी, सुरक्षाको समस्या र राम्रो अवसरहरूको कमीले मलाई असन्तुष्ट बनाएको छ ।

नयाँ अवसर र राम्रो प्रशासनको खोजीमा

अब म नयाँ नेतृत्व र नयाँ अवसरहरूको खोजीमा छु । अहिले म सोच्दैछु, अमेरिकामा कस्तो किसिमको प्रशासनले आर्थिक स्थिरता, सुरक्षाको प्रत्याभूति, अध्यागमनसम्बन्धी नीति र मध्यम वर्गका लागि कर नीति सजिलो बनाउनेछ भनेर । मलाई यस्तो प्रशासन चाहिएको छ, जसले मध्यम वर्गको कर भारलाई ध्यानमा राख्छ र रोजगारीका अवसरहरूको सिर्जना गर्छ साथै सुरक्षाको प्रत्याभूति दिलाउछ ।

निष्कर्ष

मेरो राजनीतिक यात्रा एउटै पार्टीको समर्थनमा अडिग नरहेको भए पनि, मैले सँधै अमेरिका र यहाँका नागरिकहरूको हितका लागि सोचेर नै आफ्नो मत दिएको छु । अब म नयाँ नेतृत्वको खोजीमा छु, जो सही नीति र स्थिर प्रशासनको माध्यमबाट देशलाई प्रगतिको मार्गमा अघि बढाउन सक्छ । त्यसैले यो पटक आशा र भरोसाका साथ डोनाल्ड ट्रंपलाई मत दिने निर्णयका साथ सपोर्ट गरियो । मत खेर गएन तर हामीले गरेको आशा निराशामा बदलिनु हुदैन भन्ने सर्वमान्यता छ । मताधिकार स्वेक्षाको कुरो हो, करकाप चल्दैन र ट्रम्पलाई भोट हाल्नु अपराध गरेजस्तो गरेर अफवाह चाहि नाफैलाउन सम्बन्धित सबैमा अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस् :