महिला पत्रकारितामा क्षमता अभिवृद्धिका लागि अन्तर्कृया कार्यक्रम सम्पन्न

हेटौंडा, ५ मंसिर/ महिला पत्रकारिता विकासको लागि क्षमता अभिवृद्धिका लागि अन्तर्कृया कार्यक्रम हेटौंडामा सम्पन्न गरिएको छ । नेपाल सरकार, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमूख अतिथि मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले लैङ्गिक संवेदशीलतालाई मुख्य विषय वस्तुका रुपमा लिएर आयोजना गरिएको सो कार्यक्रम सरकारीस्तरबाट शुरु गरिएको एउटा नमूना कार्यक्रम भएको जिकिर गरे । उनले जोखिम मोलेर सूचना प्रवाह गर्ने आमसञ्चारकर्मीको काम महत्वपूर्ण भएको र त्यसमा पनि महिला सञ्चारकर्मीहरुको सहभागिता अझ विशेष भएको धारणा ब्यक्त गरे ।

Advertisement:

त्यसैगरी कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिकी उपाध्यक्ष नानीमैया कार्कीले पत्रकारिता पेशमा पत्रकारिता विषयमा अध्ययन गर्दै गरेका महिला सञचारकर्मीहरुलाई सहभागी गराएर राज्यले चासो देखाएको बताइन् । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले लैङ्गिक विभेदको प्रभाव महिला पत्रकारितामा कुनै न कुनै रुपमा कायमै रहेको र यसलाई पूर्ण रुपमा समाधान गर्नु पर्नेमा जोड दिए ।

नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रबक्ता एवं आयोजकका तर्फबाट कार्यक्रमको सभापतिसमेत गरेका गजेन्द्रकुमार ठाकुरले पत्रकारिता क्षेत्रलाई समयसापेक्षित विकास गर्दै लैजान आवश्यक नीति निर्माणका लागि अभ्यासमा रहेका पत्रकारहरुको पनि विशेष भूमिका रहने बताए । मन्त्रालयकी सुचना अधिकारी ममता बास्तोलाले स्वागत मन्तव्य ब्यक्त गरेकी थिइन् भने अर्को खण्डमा उनले नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको गतिविधिका विषय कार्यपत्र समेत प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै कार्यक्रममा रष्ट्रिय समाचार समिति (रासस) संवाददाता अञ्जली थापा र प्रेस काउन्सिल नेपालको अनुसन्धान तथा अनुगमनकी प्रमुख सञ्चिता घिमिरेले समेत महिलाहरुको पत्रकारिता क्षेत्रमा हुदै गरेको अभ्यास र सङ्घर्षको विषयमा महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरेका थिए । महिला पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको उक्त समारोहमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक श्याम अर्याल, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु, नेपाल पत्रकार महसंघ मकवानपुर जिल्ला समितिका अध्यक्ष मणीराज दाहाललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :