दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरी महाभियोग प्रस्ताव दर्ता

south_korea

काडमाडौं / दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्ध विपक्षी ६ दलले पुनः संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका छन्।

डिसेम्बर ३ मा सैन्य कानुन् अर्थात् ‘मार्सल ल’ घोषणा गरेको विषयमा विपक्षी दलरुले राष्ट्रपतिविरुद्ध पुनः महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। यसअघि विपक्षी दलहरुले दर्ता गरेको अविश्वासको प्रस्ताव भने असफल भएको थियो।

Advertisement:south_korea

विपक्षी दलले शुक्रबार संसद्‍मा राष्ट्रपतिविरुद्ध दोस्रो पटक महाभियोगको प्रस्ताव दर्ता गराएका हुन्। महाभियोग प्रस्तावमा आगामी शनिबार मतदान हुने छ। गत साता ल्याइएको महाभियोगको प्रस्तावमा सत्तापक्षले संसद् वहिस्कार गरेपछि राष्ट्रपति महाभियोगबाट जोगिएका थिए।  महाभियोग लाग्नु केही घण्टाअघि राष्ट्रपतिले राष्ट्रको नाममा सम्बोधन गर्दै मार्सल ल लागु गर्ने निर्णय फिर्ता लिएका थिए।  त्यस क्रममा उनले माफी मागेपछि सत्ता पक्षका सांसदहरुले मतदान बहिस्कार गरेका थिए।

महाभियोग पारित हुन संसद्का तीन सय सदस्यको दुई तिहाइ अर्थात् २ सय सांसदको समर्थन चाहिन्छ। विपक्षीसँग १९२ सांसद छन्। प्रस्ताव पारित गर्न सत्ता पक्षका आठ सांसदको मत चाहिन्छ। सत्ता पक्षसँग तत्काल १०८ सांसद छन्।

यसैबीच सत्तारुढ दल पिपल पावरका अध्यक्ष हान डोङ हुनले राष्ट्रपतिलाई काम कारबाहीबाट तत्काल निलम्बन गर्न आवश्यक रहेको बताए। यसका लागि सत्ता पक्षले समेत महाभियोगको प्रस्तावमा मतदान गर्न आवश्यक रहेको उनको भनाइ छ।

राष्ट्रपति युनमाथि राजीनामाको दबाब छ। उनको घर अगाडि  प्रदर्शनसमेत भएको छ। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। तर उनले राजीनामा दिन अस्वीकार मात्र गरेका छैनन् सैन्य कानुन लागु गर्ने अघिल्लो साताको आफनो अप्रत्याशित निर्णयको बचाउसमेत गरेका छन्। उनले अन्तिम समयसम्म लडिरहने दृढता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस् :