विनाशकारी भूकम्पको ९ वर्ष पूरा
तातोखबर, काठमाडौं / वैशाख १२ को विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो।
मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ । २२ हजार भन्दा घाइते भए। पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए। दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुग्यो ।
भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो। भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो।
यो भूकम्पका करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको थियो।
यो महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ । तर, नौ वर्षमा अझै ९२ हजार विस्थापित परिवारका घर पुनर्निर्माण हुन सकेका छैनन्। सिंहदरबार र धरहरालगायत अन्य कतिपय पुरातात्त्विक संरचना पनि अधुरै छन् ।
पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत २०७८ पुस ९ मा विघटन भइसकेको छ।
गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भविभागले बुधबार बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।