उपत्यकाव्यापी अन्तरपालिका मेयर कप प्रतियोगिता शनिबारदेखि शुरु हुँदै

meyor_cup

तातोखबर, ललितपुर / गोदावरी नगरपालिकाले प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

नगरपालिकाको वडा नं १० टाहाखेल-झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा शनिबार प्रतियोगिता शुरु हुन लागेको हो।

Advertisement:meyor_cup

प्रतियोगितामा काठमाडौंका ८ स्थानीय तहको ८ टिम तथा ललितपुरको ५ स्थानीय तहका ६ टिम छन्। यसैगरी भक्तपुर जिल्लाको एक स्थानीय तहबाट एक गरी १५ टिमको सहभागिता रहेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडाध्यक्ष निरोज बज्राचार्यले जानकारी दिएका छन् ।

प्रतियोगितामा काठमाडौंका काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिकाले भाग लिएका छन्।

काठमाडौंबाट गोर्कणेश्वर, कागेश्वरी-मनोहरा र शंकरापुर नगरपालिकाले सहभागिता जनाएका छैनन्। ललितपुर जिल्लामा रहेका ६ स्थानीय तहमा महाङ्काल गाउँपालिकाले प्रतियोगितामा सहभागीता जनाएको छैन भने आयोजक गोदावरीसहित ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, बाग्मती गाउँपालिका र कोन्ज्योसोम सहभागी छन्।

आयोजक गोदावरी नगरपालिकाकामा  ‘ए’ र ‘बी’ गरी २ वटा  टिम रहेका छन्।

भक्तपुरमा रहेका ४ नगरपालिकामध्ये मध्यपुर थिमी नगरपालिकाले मात्र सहभागिता जनाएको छ। भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्य विनायक नगरपालिका यो प्रतियोगितामा सहभागी छैनन्।

उद्घाटन खेलमा शनिबार आयोजक गोदावरीको ए टिमले महालक्ष्मी नगरपालिकासँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्दैछ।

एउटा पुलमा ७ वटा र अर्कोमा ८ वटा राखिएको छ। पुल ए बाट दक्षिणकाली नगरपालिकाले बाई पाएर सोझै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

बिहीबार अपराह्न १५ वटै टिमका म्यानेजरलाई डाकेर प्रतियोगिताको नियमबारे जानकारी गराउन लागिएको नगरपालिकाका खेलकुद संयोजक बज्राचार्यले जानकारी दिए।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार हात पार्ने नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए।

उनका अनुसार अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक टिममा २० जना खेलाडी र ४ जना अफिसियल रहनेछन्।

नगरपालिकाका प्रवक्ता सिलवालले नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उदेश्यले उपत्यकाव्यापी अन्तर नगरपालिका फुटबल आयोजना गरेको बताए। ‘गोदावरीको वडा हुँदै नगर तथा जिल्लाका साथै प्रदेश एवं राष्ट्र मात्रै नभएर अन्तरर्राष्ट्रिय जगतमा समेत नेपाललाई चिनाउने युवा खेलाडी उत्पादन गर्न यो प्रतियोगिता आयोजना गरेका हौँ’, उनले भने।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने प्रतियोगिता गर्न ४८ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि गोदावरी नगरपालिकाले २५ लाख बजेट विनियोजन गरेको प्रमुख मर्हजनले जानकारी दिए।

खेल तालिका 

वैशाख १५ गते दिउँसो ३ बजे            गोदावरी एविरुद्ध  महालक्ष्मी

वैशाख १६ गते दिउँसो साढे १२ बजे    कोन्ज्योसोमविरुद्ध  नागार्जुन

वैशाख १६ गते दिउँसो ३ बजे            चन्द्रागिरीविरुद्ध  बागमती

वैशाख १७ गते दिउँसो ३ बजे            मध्यपुर ठिमीविरुद्ध  टोखा

वैशाख १८ गते दिउँसो ३ बजे            तारकेश्वर विरुद्ध   कीर्तिपुर

वैशाख १९ गते दिउँसो साढे १२ बजे      बुढानीकण्ठविरुद्ध काठमाडौं

वैशाख १९ गते दिउँसो ३ बजे            गोदावरी ‘बी’ विरुद्ध   ललितपुर

क्वार्टरफाइनलका खेल वैशाख २१ र २२ गते दिउँसो साढे १२ बजे  र ३ बजे।

सेमिफाइनल:  दुबै खेल वैशाख २५ गते दिउँसो साढे १२ बजे  र ३ बजे।

फाइनल : खेल वैशाख २९ गते शनिबार दिउँसो साढे २ बजे।

प्रतिक्रिया दिनुहोस् :