नेपालमा दलीय राजनीतिक संन्यन्त्र अन्त्यको आवश्यकता

नेपालको प्रजातन्त्र प्राप्तिपछि आजसम्मको अवस्थालाई हेरेर भविष्यको कल्पना राजनीतिक कोणबाट गर्ने हो भने यो देश उन्नतिको गतिमा कहिल्यै अगाडि बढ्न सक्दैन । भौगोलिक, ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक र सामाजिक सम्पदालाई देशको आम्दानीको श्रोतको रुपमा लिने हो भने यो देशसँग जति सम्पन्नशाली बन्न सक्ने सम्भावना सायदै अरु मुलुकहरुसँग होलान् । तर यहि देश सधैं विदेशी शक्तिहरुले मौलाउने थलोका रुपमा परिणत बन्दै गएको छ । यसको कारण, नेपालको राजनीतिक संयन्त्र खरिदबिक्रीमा केन्द्रित हुनु नै हो, राजनीतिक दलालीहरुको दलीय चरित्र हावी हुदै जानु नै हो भन्न हिच्किचाउनु पर्दैन ।

ठुला प्राकृतिक सङ्कट र दैविक प्रकोपको द्रुत प्रभावबाट पनि केहि न केहि सुरक्षा पाउन सक्ने नेपालको भूगोल, जलश्रोतको सम्पन्नता, प्रकृतिलाई संरक्षण गर्न सक्ने पर्यावरणीय शक्ति, मानव सभ्यतालाई भविष्यसम्मलाई पनि संरक्षित राख्न सक्ने सांस्कृतिक परम्परा र जस्तोसुकै दुर्भावना पैदा भएपनि एक आपसमा मिलेर जीवनयापन गर्न सक्ने मानव समाजले भरिपूर्ण देशका जनताको मन प्रजातन्त्रको आगमनपछिका राजनीतिक घटनाक्रमले भाँडिदिएको छ, वर्गवर्गमा विभाजित गरिदिएको छ, नेपाली जनताको एकतामा ठुलै प्रहार थप्दै लगिरहेको छ । विश्वमा वीर गोर्खालीका रुपमा पहिचान बनाउने नेपालीहरु आज नेपाल छोड्ने प्रकृयाका लागि जरैदेखिको बल प्रयोग गरिरहेका छन् ।

Advertisement:

यहाँसम्म की अब नेपाली युवा शक्ति पूर्ण रुपमा पलायनको मार्गमा प्रवेश गरिसकेको छ । नेपालमा जन्मिएको मानव विदेशको स्थायी बसाईको लागि आतुर छ, यहाँ जन्मनु पर्नेहरुलाई पनि विदेशीभूमिमा जन्माउने तयारी भइरहेको छ । कतिपय चर्चामा रहेका नेपाली गर्भिणी आमाहरु आफ्नो सन्तानले नेपाली भनेर चिनिनु नपरोस् भनेर विदेशी भूमिमा जन्माउन थालिसकेका पनि छन् । यस्ता खबरहरु धमाधम बाहिरिदै छन् । यतिमात्रै होइन, नेपालको नागरिकता त्यागेर विदेशी बनेकाहरु नेपालको सरकार चलाउने गरी अगाडि बढेको सबैले देखिरहेकै कुरा हो । विदेशी पचिहान बनाइसकेका नागरिक नेपालमा आएर सरकार चलाउन थालेपछि र नेपालमा कुनै नेपाली नभएपछि नेपाल चलाउने विदेशीहरुको जमात पनि त्यहि रुपमा नआउला भन्न सकिदैन ।

नेपालको दलीय राजनीतिक संयन्त्र उग्र खरिद–बिक्री हुने संस्कारले मुलुकलाई कता लग्दैछ ? भन्ने सन्देश पछिल्लो समयमा विकसित इन्टनेरनेट सामाजिक सञ्जालहरुबाट धमाधम बाहिरिरहेका छन् । ‘मै हुँ विज्ञ, मैले नै नेपाल चलाएको हुँ, अरु ते केही होइनन्‘ भन्नेहरु पनि ती सामाजिक सञ्जालहरुमा देखा पर्ने गरेका छन् । झट्ट हेर्दा हामी ‘सामाजिक सञ्जालमा भट्ट्याउनेहरुलाई राजनीतिक समयन्त्र जिम्मा लगाउन सके मुलुकमा उन्नति हुन सक्ला र यिनले नै मुलुकको अहिलेको अवस्थामा परिवर्तन ल्याउन सक्छन् भनेर विश्वास गर्छौं । आमसञ्चार माध्यमबाट देशको उच्च राजनीतिक नेतृत्वले गरेको गलत क्रियाकलापको विषयमा समीक्षा गर्दै ‘उफ्रउफ्री नाकको डाँडी भाच्न मन छ’ भन्ने मान्छे पनि सत्ता पुगेको देखिएकै कुरा हो । लक्षण कस्तो देखिन्छ ? यो पनि एउटा विषयमा सोच्नु पुग्छौं हामी ।

नेपालको दलीय राजनीतिक प्रणालीबाट धेरै अपेक्षा गरेको नेपालीको भावना पछिल्लो अवस्थामा आएर बदलिदै गएको छ । राजनीतिक दललाई व्यवसायका रुपमा प्रयोग गर्ने नेपाली नेतृत्वहरुले गफ गरे जस्तो मुलुकलाई सहि मार्गमा डोर्याउन सक्ने तागत राख्न सक्दैनन् । किनभने नेपालको सरकार चलाउने विधान नै राजनीतिक दलीय संयन्त्रमा आधारित रहेकोले दल भनिएका समूहहरु र ती दलभित्रका अन्य थुप्रै दलहरु एक अर्काका लागि घातक बन्ने गरेका छन् । ती समूहका नाईकेहरुलाई रिझाउन कार्यकर्ताका रुपमा काम गरिरहेका सदस्यहरु एकअर्काको कुरा काट्ने, एउटाले अर्कोलाई खसाल्ने षड्यत्रको अभ्यास गर्दा गर्दै आफू पनि नाङ्गिदै गएका हन्छन् र समूहका नाईकेहरुलाई पनि खुइल्याउदै गइरहेका हुन्छन् । यसले ती दलहरु एक अर्काेसँग प्रतिष्पर्धा गर्दा गर्दै जनताको हितका लागि सोच्न भ्याउदैनन् । अब नेपालमा स्थापना हुने राजनीतिक दल, चालु राजनीतिक दल, सत्ताको वरिपरी केन्द्रित हुने दल र दलको चरित्र, दल हाँक्ने नेता कार्यकर्ताको छवि र उनीहरुको गतिविधिहरुमा आमसर्वधारणले विचार पुर्याउनु आवश्यक छ ।

नेपालमा राजनीतिक विचारका रुपमा चर्चा गरिदै आएको कम्युनिष्ट विचार वा कम्युनिष्टविपरित विचारमा आधारित राजनीतिक दलहरुलाई दल भन्ने र त्यस्ता विचार नभएका दलहरुलाई दल नै नमान्ने प्रबृत्ति पनि प्रचलनमा रहेको छ । अन्य देशहरुमा प्रयोग भएर हद गुज्रिएका राजनीतिक दर्शन सिद्धान्त नेपालमा आवश्यक छ भनेर त्यसैलाई महान् विचार मान्दै कार्यकर्ता जुटाउने र अल्मल्याउने काम गरिररहेका राजनीतिक दलको ढ्वाङ्ग फुक्नेहरुको विश्वास गर्ने सोझा साझा नेपालीहरुलाई जुनसुकै निर्वाचनमा पनि अल्मल्याउदै त्यस्ता दलहरुलाई खेल्ने अवसर प्राप्त समूहहरुले यस्तै अभ्यासबाट अझ मुलुकलाई बन्धक बनाउने तरिका सिक्दै र प्रयोग गर्दै गइरहेका छन् । उनीहरु जनता र देशको हितका लागि हुन् या होइनन् ? यो पनि सर्वसाधारणले विचार पुर्याउनु पर्ने कुरा हो ।

अघिल्लो निर्वाचनबाट निर्वाचित नेताहरुले सरकारमा पुगेर कार्यकर्ता पोष्ने गतिविधि गर्नु, जनताको अपेक्षाविपरित काम गर्नु, संस्थागत नीतिगत भ्रष्टाचारको विकल्प प्रयोग गर्नु, देशलाई उत्पादनविहिन बनाएर परनिर्भरताको सिद्धान्तलाई श्रेय दिनु जस्ता गतिविधि देख्दा ती दलहरुलाई पञ्छाउन जनताले मतदानमा केही सोच विचार गरेका त हुन्छन् तर निर्वाचनपछि जनताले हटाउन खोजेका दलहरु नै गठबन्धनको माध्यमबाट पुन त्यस्तै सरकारमा पुगेर ती जनतामाथि शोषण गर्न आईपुग्ने चक्रीय प्रणालीलाई हटाउन अब नेपालमा दलीय राजनीतिमा आधारित सरकार निर्माण गर्ने व्यवस्थाको अन्त्य हुन जरुरी छ ।

प्रजातान्त्रिक राजनीतिक विचार, कम्युनिष्ट विचार, अन्य के के विचार र वाद भनेर नेपालमा हल्ला गर्ने र नचाहिदो तर्क वितर्क गर्ने समूहरुलाई यस्ता विचारहरुले खाशै लाभ दिएको देखिदैन तर पनि यस्तो तर्क कुर्तक गर्ने एउटा आदत भने नेपाली युवा समुदायमा व्यप्त छ । मादक पदार्थ र धुम्रपानको नशा मानिसमा परेको प्रभाव हटाउन नसकिएजस्तै नेपालमा दलका रुपमा स्थापित समूहका स्वार्थी अगुवाहरुले आफ्ना कार्यकर्ताहरुलाई त्यो नशामा डुभाएको कारण त्यसबाट मुक्त गर्न कठिन छ ।

अब पनि देशको राजनीतिक प्रणाली यहि रुपमा छाडा छोड्ने हो भने यो मुलुकको इतिहास रच्न बलिदान दिने वीरहरुको अस्थित्व समाप्त हुनेछ । अब नेपालीभित्रबाटै यो देशको रक्षा गर्ने सक्ने, जनताको हितमा काम गर्न सक्ने शक्ति जन्मिनु आवश्यक छ । मुखले बोल्दैमा, पानामा लेख्दैमा, ठुला ठुला गफ हाक्दैमा देशको रक्षा र जनताको उन्नति हुन सक्दैन । राजनीतिक खोल ओढेर धन र प्रतिष्ठा कमाउन चाहने झुण्डहरुलाई पलायन बनाउन नेपालीहरु नै लाग्नु पर्छ, आफैं यो देश छोडेर विदेश पलायन हुदैमा समस्या समाधान हन सक्दैन । राजनीतिक विचार विदेशबाट ल्याएर होइन, नेपालभित्रैबाट राजनीतिक दर्शन तथा विचारधारा जन्माउने तयारी गर्न ढिलो भएको छ । यसका लागि नेपालमा दलीय राजनीतिक प्रणालीको अन्त्य हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस् :