लुम्बिनीमा ८ मन्त्रीले लिए शपथ

Lumbini pradesh sapath

बुटवल / लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य र एमाले-कांग्रेसका ८ बिना विभागीय मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराए। १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन्। तर कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमल्सिनाको नाम काटिएको छ।

Advertisement:Lumbini pradesh sapath

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका हुन्।  यसपटक पनि मन्त्रीका रुपमा दोहोरिने ढकाल र पन्थी रहेका छन्। ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी विकास मन्त्री पन्थी आन्तरिक मामिला मन्त्री भएका थिए। पाल्पाका सारु र दाङकी शर्मा मन्त्रीमा नयाँ अनुहार हुन्।

यसैगरी नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन्। गुल्मीका धनेन्द्र कार्की, प्युठानका रोज राणा, दाङका प्रचण्ड विक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन्। ​ कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राणा मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरू सबै नयाँ अनुहार हुन्।

कांग्रेसले प्रमुख सचेतक रहेका तिमिल्सिनाको नाम विवाद भएपछि अन्तिममा काटिएको छ। आज बिना विभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ।

लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए। यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म सहभागी छैनन् तर उनीहरूका लागि २ मन्त्रालय भने खाली राखिएको छ।

८७ सदस्यीय प्रदेश सभामा अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक एक गरी १३ सांसद मात्रै विपक्षमा रहने भएका छन्।

प्रतिक्रिया दिनुहोस् :