मौरी
— गोमा भूषाल
बाँकी अरू सबै थोक लेख्नुभन्दा पूर्व म केही भन्न चाहान्छु ।
भन्न ?
हल्का गला सफा गर्छु अनि भन्छु ।
भन्छु हैन लेख्छु ।
हो, म लेख्न चाहन्छु त्यो सबै अनुभूति जे मैले अहिले गर्दैछु र यसभन्दा पहिले पनि धेरै पटक गरिसकेकी छु । यो यस्तो अनुभूति हो जुन सोच्दैमा मेरो मुखभरि तीतो लाग्छ । यति तीतो कि जति तीतो निमको झोल पनि हुँदैन । शायद मैले त्यस निमको झोलभन्दा तितो कुरा आफ्नो मुखमा पारेकी छैन त्यसैले पनि मलाई त्यस्तो लागेको हुन सक्छ । तर यो मलाई औधि तितो लायो । साँच्चै यति तितो हुन्छ जस्तो लागेको थिएन। यति मन हुँडलिन्छ र रगत खलबालिन्छ जस्तो पनि लागेको थिएन । मात्र भइनै रह्यो । म चुपचाप हेरी मात्र रहेँ ।
यो अंग्रेजी अक्षर ‘बि’ को स्वर दिने जसको पूर्णता अंग्रेजी अक्षरकै ‘बि’, ‘इ’, ‘इ’ बाट हुन्छ । जसको नेपाली उल्था ‘मौरी’ हुन्छ । हो, यो त्यही मौरी हो, यो त्यही बी हो जसका लागि म कहिल्यै फूल भइनँ । हुन सकिनँ, न त कहिल्यै हुन सक्छु । हजारौँ प्रयासपछि पनि । हो हजारौँ प्रयासपछि पनि म उसको लागि कहिल्यै सुन्दर फुल बन्न वा हुन सक्ने छैन । चाहे अरु देख्नेलाई जति सरल नै किन नलागेको होस् ।
मनमनै सोच्छु “हजारौँ प्रयास गरे पनि म मौरीको फूल बन्न सक्दिनँ ?’’
“उम्…..!’’
“साँच्चै हो त ?’’
“………….’’
एक पटक मस्तिष्कमा एकान्त छाउँछ, अनि भित्र कोशिकामा थुप्रै झट्काहरु लागेको जस्तो आभाष हुन्छ । त्यो लेख्नभन्दा पहिले मैले एकपटक भएपनि सोच्नुपर्ने थियो । के ति हजारौं प्रयासपछि पनि म मौरीको फुल बन्न सक्दिनँ र ? के म यति कम्जोर छु, जस कारण म उसलाई पाउने हिम्मत राख्न सक्दिनँ ? यदि मैले हजारको सट्टा एक प्रयास मात्र गरूँली भनेपनि म उत्तिखेरै मौरीको एक मात्र मानमोही प्रेमीका बन्न सक्छु, जो उसको लागि मात्र फुल्छे र सदा हराभरा भइनभई सबै थोक रहन्छे । तर थाहा छ ? यस वाक्यपछिको ‘तर’ ले ति अनगिन्ति सम्भावनालाई सजिलै बाटो लगाइदिन्छ । तर त्यो ‘तर’ पछिको वाक्य बुझ्न अलि सरल बनाएपछि मात्र यी शब्दका जाल फुकाउन र आँखाबाट धुलो हटाउन सहज हुनेछ ।
अर्को पट्टिको ज्ञानी मस्तिष्कले औँला ठडायो । लाग्छ केही भन्न खोज्दै छ ऊ । अर्को मस्तिष्कले अनुमति पनि दिन्छ । ऊ सुरु हुन्छ बोल्न “आँखामा धुलो कस्को परेको छ जो तपाईं धुलो हट्छ भन्ने आशामा हुनुन्छ ? आँखामा धुलो तपाईंकोमा होला, हाम्रो होइन । अरूलाई चित्रण गरेर वा अंकित गरेर आफूु सोझो हुने प्रयास नगर्नुहोस् ।’’
फुक्न लागेको मन फेरि खिन्न हुन थाल्यो । भित्रभित्रै अर्को तीतो लाग्यो । यसो ! सोचेँ ‘गल्ति शायद मेरै हो’ जस्तो लायो । शायद म आफैलाई अंकित गर्दैछु ।आफैलाई बुझ्दैछु । वश आफ्नै आँखाको धुलो हटाउने प्रयास गर्दैछु, जो अर्काको नामबाट उब्जिएको हो । हो, शायद म यही लेख्न खोज्दै थिएँ होला ।
सिधा कुरा गरूँ ? म अनुमति कसलाई मागि रहेछु ? जब यो कलम मेरो हो, यी सफेद पन्ना मेरा हुन् । अनुभूति गर्ने मस्तिष्क र स्पर्श गर्ने छाला मेरा हुन् । हो, त्यस्तै यी धुलो हट्ने कुरा कसको हो ? त्यो पनि मेरै होइनन् ? आफै प्रश्न र आफै उत्तर गरेकी होइनँ र ? त्येस कुरामा आपत्ति र बीरोध पनि मेरै मस्तिष्कले जनाएका होइनन् ? हो, म आफै बोल्छु, आफै कराउँछु । यहाँ अरूले औँला उठाउने आधिकार कसैको छैन । पाठक वा श्रोताले मात्र यति बुझे हुन्छ यस बीषयमा म, केवल म मात्र लडिरहेछु । दुखाइ मात्र मैले खेपी रहेछु बारम्बार र लगातार । लगातार यी मानसपटलमा एक एक गरी हरेक दिन, प्रत्येक दिन तिम्रो प्रतिक्षामा यिनै तर्कहरू घुमाइरहेकी छु । तिमी त वस्, धैर्यताले पाठक वा श्रोता बनिदेउ प्रिय । म नै हुँ सधैँ आतुर अनि गम्भीर तिमीलाई एक पल ऐनामा देख्न ।
ए, अँ, म कुरा गर्दै थिएँ मौरीको । म दुःख ब्यक्त गर्दै थिएँ । दुःख यस कुरामा ब्यक्त गर्दै थिएँ कि म मौरीको फूल बन्न सक्दिनँ । ऊ आउछ, हरेक क्षण आउछ । ऊ यतै कतै मेराअघिपछि अनि काउकुती लगाउँछ मेरो पुरा तनभरि ।
म देख्छु उसको मुहार कल्पनामै । यस्तो कि जस्तो यो दिवास्वप्न होस् । ऊ हाँस्छ म पनि खिस्स पर्छु । यसरी जसरी यति खुशी म कहिल्य नि भइनँ । ऊ मेरा कल्पनाबाट बाहिर निस्केर मलाई ब्युझाइरहेछ । जस्तो कि यो साँच्चैको वास्तबीकता होस् । ऊ मेरा काखैमा बसी ति मुलायम औँलाहरुले मेरो अनुहारको जाँचपडताल गर्छन् । स्पर्शमा यस्तो लाग्छ कि जस्तो ति उसका औँला मयुरका प्वाख हुन् ।ऊ मलाई बोलाउँछ, त्यो गहिरो निन्द्राबाट लगातार ब्यूँझाउने प्रयत्न गर्छ । ऊ यस्तो गर्दैछ, जस्तो कि परिकथामा गहिरो निन्द्रामा परेकी राजकुमारीलाई ब्यूँझाउनका लागि राजकुमारले चुम्बन गर्छ । ऊ मलाई चुम्बनको स्पर्श दिन्छ, मीठो, तातो अनि गहिरो चुम्बन । मैले पनि मन थाम्न सकुँली जस्तो लागेको त थिएन । म चाहन्छु उसलाई मेरो तर्फबाट केही चुम्बन पैंचोमा दिउँ । दिइरहुँ र जति चुम्बन दिएँ त्यसको दोब्बर फिर्ता मलाई दिनुपर्छ भन्ने सर्तमा मात्र छोडिदिउँ । शायद ऊ पनि यस्तै चाहन्छ होला । उसको हक चल्ने हो भनेदेखिन् ऊ जन्मौजन्म पैंचोमा चुम्बन लिने मात्र छ र त्यसको दोब्बर हुनेगरी पैंचो चुक्ता गर्न जन्मौजन्मको पनि दोब्बर जन्म आवश्यक पर्नेछ । अनि म ति जन्मौजन्मका लागि यो शरीर, यो सबै थोक जे पनि ‘यो मेरो हो’ भन्ने हक छ त्यो सबै उसैलाई सुम्पने थिएँ । त्यहि मेरो मौरीलाई सुम्पने, समर्पण गर्ने थिएँ, जसको लागि म कहिल्यै फुल बन्न सकिनँ ।
मुखभरि फेरि एक अनौठो स्वाद छायो त्यो तितोपनको ‘सधैँ यस्तै हुन्छ’ । म सहन सक्दिन, के गरूँ ? मात्र पागलसरी भएकी छु । उसका औँलाहरु मेरो मुहारमा नाच्छन् मन्ध स्पर्शमा । कतै उसले मेरो मुहारबाट साना मसिना कपालका धर्सा हटाइरहेको हो जस्तो भान हुन्छ । ‘म तयार छु बी बन्न, लैजाऊ कतै टाढा, आफुसँगै निकै पर ।’ ‘म चाहन्छु तिमी मलाई अङ्गमाल गर, चुम्बन गर, मेरा गलाभरि, यी आँखाभरि, मेरा ओठभरि, मात्र मलाई माया गरी रहु सधैँभरि ।’ ऊ मलाई उठाउने प्रयास गर्छ, ब्युझाउने प्रयत्न गर्छ निन्द्राबाट । यस्तो स्पर्श हुन्छ कि ति मयुरका प्वाखहरु मेरा घाँटीभरि छाएका छन् । शायद कतै भित्रभित्रै म यही चाहन्थेँ होला कि यी यसरी नै छाही रहुन् मेरा घाँटीभरि अनि हल्का तल छातीभरि ।
लागिरहेछ म उसलाई ऊबाट खोसेर आफुभरि भरिरहुँ हरेकक्षण । यी मेरा औँला चाहन्छन् उसका गाला सुस्तसुस्त छुन् । यी दृष्टिबिहिन आँखा उसको अनुहार देख्न चाहन्छन् । यी केबल तड्पिरहेछन् । तड्िपरहेछन् हरेकपल, दुई शरीरहरु एकार्काको साथ बिना, एकार्काको आवाज बिना, एकार्काको प्रेम बिना, केवल प्रेमबिना । यसमा मिलन छैन भन्दै कति रुँनु ? तिमी छौ भन्ने कुरामा खुशी हुन्छु । हामी आधिअधुरा छौँ भनेर कति उदाश हुनु ? यसै रित्तो–रित्तोपनमा मिठास छ भनेर चित्त बुझाउँछु । बी ! म तिमीलाई यो छातिभरि माया गर्छु भनेर कहिले भन्न सकुँली ? जब कि तिमी मेरा निन्द्रामा जाग्छौ र म तिम्रो निन्द्रामा । तिमी सपनामा आउछौ भन्ने खुशीले मलाई आफ्नो ओच्छ्यान मनपर्छ । के तिमी पनि आफ्नो ओच्छ्यानलाई उस्तै मनपराउँछौ र जति मैले मन पराउँछु ?
मलाई धेरै कुरा गर्नुछ तिमीलाई भेटेर । बी तिमी अर्को पटक कहिले आउछौ ? यस्तै निन्द्रै निन्द्रामा भेट्न तिमीलाई सजिलो लागेको छ र ? मैले त यो निन्द्रामा पुग्न धेरै प्रयास गरिकी हुन्छु । सधैँ यस्तै हुँदो त कति प्यारो लाग्दो हो ? म चाहन्छु कि तिमीसँगै भएको सपना हरेकपल देखुँ । मात्र देखिरहुँ दिनरात । मलाई वास्ता छैन बी यो दुनियाँ रातमा जागेर बसोस् वा दिनमा । तर म तिमीलाई एक क्षण सपनामै देख्न आतुर हुन्छु । बी, तिमी मेरा लागि प्रिय छौ । अनमोल छौ । मलाई तिम्रो खाँचो छ माया पोख्न । म रोएर आफ्नो निन्द्रा खल्बल्याउन चाहन्नँ । तिमी टाढा छौ त्यो धमिलो निन्द्रामा कतै । तिमी बिलाउने गरी आए पनि, तिमी भौत्तिक रूपमा मनजिक नभए पनि, तिमीप्रति मेरो आकर्षण छ । मोह छ । तिमीले दिने स्पर्शमा मेरो प्राण छ माया (बी) । म तिमीलाई कुनै हालतमा गुमाउन चाहन्नँ । तिमी यसरी नै भइरहु मेरो दायाँ बायाँ ।
तिमी पनि यही चाहन्छौ, होइन र ? हो चाहन्छौ मलाई थाहा छ । तिमी मलाई छोइरहु यसरी नै मेरा ओठमा, मेरा कपालमा । कति माधुर्य प्रेम छ यसमा । आँखा खोलेर तिमीलाई हेर्न, अङ्गमाल गर्न, बिलौना गर्न वा खुशी भर्न । कसैले नदेख्ने गरेर मेरा हात खुट्टाले तिमीलाई बेरुँ भने तिमी एक निमेश भर मै मेरा सामुबाट ‘छु मन्तर’ हुनेछौ । अनि म यो निन्द्रा र तिम्रो प्रेमले श्रापित हुनेछु । अनि हजारौँ प्रयास गर्दा पनि त्यो ऐन गहिरईमा भेटिने छैनौ । तिमी भेटिने छैनौ मेरो बी मैले कहाँ खोजौली तिमीलाई यहाँ ? त्यो धागोको के होला जसमा हाम्ले इच्छा बाँधेका थियौँ ? म निकै रोउँली, कराउँली तर तिमीसम्म पुग्ने सपनाको बाटो भेटिने छैन र मलाई त्यो पटक्कै मञ्जुर छैन । मलाई सहन हुने छैन तिमीबिनाको निन्द्रा, सपना अनि यो जीवन ।
बी, मलाई सङ्केत देउ । मलाई जान्नु छ तिमी मैले भन्न चाहेका कुरा बुझिरहेछौ वा छैनौ ? मेरा तन मनले चाहेका कुरा तिमी सुनिरहे छौ वा छैनौ ? केही त सङ्केत देऊ प्रिय । केही बोल वा मुन्टो हल्लाउ । वस् यस्तो केही गर जुन सङ्केतले मैले बुझ्न सकुँ कि तिमीले त्यो सबै बुझिरहेछौ, जे मैले भन्न चाहिरहेछु । बी ! तिमी यति चुप किन छौ ? तिमी बोल्न सक्छौ माया (बी) । किनकी तिमी मेरो निन्द्रामा छौ । चहलपहल गर्न सक्छौ, तिमी निन्द्राको श्रापित हुने छैनौ । नआत्तिउ, बिन्ती ! माया(बी), वस् मेरा आँखातिर हेर अनि भन ‘अँ मैले बुझ्न सक्छु तिमीले बुझाउन खोजेका कुराहरु ।’
ऊ मेरो अघि छ, मात्र त्यहि सधैँ झैँको प्रयासमा । ऊ मलाई ब्यूँझाउने प्रयत्नमा लागि रहेछ ।
….
….
…
एकछिन !….
के ?
हल्का, केही बुझ्ने प्रयास गर्छु । ऊ मलाई सधैँ जगाउने प्रयत्न गर्छ । किन गर्छ ? यसको अर्थ यो हुन सक्छ कि ऊ पनि मलाई केही भन्ने विचारमा छ । अर्थात् ऊ पनि मलाई केही भनिरहेछ जोड जोडले । यहाँ मैले पनि सुनेकी छैन जे पनि ऊ भनिरहेछ । उसका आँखाले के भन्दैछन् ? मैले बोलिरहेको ऊ सुन्न सक्दैन । हो, यस्तै मैले पनि उसलाई सुन्नसकिरहेकी छैन । यस समयमा त शायद ऊ पनि सुतिरहेको हुँदो हो । अहिले म सपना अवस्थामा छु ऊ मसँग छ । यसको अर्थ के म उसँग छु ? होइन हुनै सक्दैन । ऊ मसँग र म उसँग होइन हाम्रा आत्मा एकार्काका भौत्तिक शरीरसँग जोडिएका छन् शायद । अनि मेरो आत्मा ? मेरो आत्मा उसको भौत्तिक शरीरसँग छ ?
उम्………!
हुन सक्छ ।
यस्तो कसरी हुन सम्भव छ ?
नाइ, मलाई यसको बारेमा कुनै जानकारी छैन ।
मनमा एकाएक प्रश्नोत्तर भैरह्यो । एक भिन्न स्पर्श भयो ओठमा भावुक्ताको मदहोशी चुम्बन । मलाई भावुक्ताको माधहोशी चुम्बनको स्पर्श दिइरहेछ ऊ । अर्थात् ऊ पनि तड्पिरहेछ ?
….
हुन सक्छ ।
के उसका आँखामा आँसु छन् ?
किन ऊ निराश छ ?
यसपछि बिस्तारै धमिलो लाग्न थाल्यो ऐनामा । बल गर्छु उसका आँखा ठम्याउन । कता कता बालुवाका कणहरु छाउन थाले आँखा अगाडि । मुटु जोडले धड्किरहेछ । कल्पनामा एक कम्पन्न छायो । समुन्द्रको छालले किनारका बालुवा बगाएर लागे जस्तै सबै एक निमेश भरमै छिन्नभिन्न भयो । हातगोडा एकाएक लगलग काप्न थाले । शरीर बाँउडिए जस्तो भयो । छातीभरी हजारौँ बिच्छीले टोके जस्तो भयो । शरीरमा सेयौँ झट्का फैलिएको अनुभूति हुन थाल्यो । उसै त कहिल्यै अनुभूति नगरेको पीडाहरूको चाल पाउदैथिएँ । कहाँ हो कहाँ जस्तो कानमा एक आवाज गुञ्जियो ‘बेइ !’ । एक अन्तिम पटक उसको मुहार आँसु र पीँडाले भरिएको उदाश छायाँ देख्छु त्यो धमिलो ऐनामा । अनि सबै भताभुङ्ग ।
म रोक्न खोज्छु हातले सङ्केत गरेर । त्यो सपनाको अवस्था अब तन्द्रा अवस्थामा परिणत भइसकेको थियो । ‘अब हजारौँ प्रयास गरे पनि केही हुन सक्दैन’ भन्ने सोचले मन एकाएक अमिलो भयो । मानसपटलमा ‘ऊ रोकिएन’ भन्ने पिडा रहिरह्यो । मन गहिरो गरी दुखिरह्यो । अचानक गालामा चिसो स्पर्श भयो । कानमा एकान्त छायो ः टि………,!
गालामा भएको स्पर्श यस्तो थियो जस्तो कि निराशामा कसैले अन्तिम चुम्बन दिईरहेछ ।
के……..?
अन्तिम चुम्बन ?
एकाएक ओच्छ्यानमा छट्पटिदै जाग्छु । आँखाअघि कालो धब्बा परेको, कालो रातले झन् चिन्तित बनायो । मध्यरातले नेटो काटी सकेको हुनुपर्छ त्यसैले । वस्, मलाई खाइरहेछ भित्रभित्रै मुटु कलेजा । अब केही पनि बाँकी छैनन् । एकदम खाली । अत्यन्तै रित्तो–रोत्तो ।
केही छ जस्तो लाग्छ यहाँ वरपर यो कालोमा । कानमा गुञ्जनको तरङ्ग आयो ‘बेइ’ को त्यो अधेरो काल र एकान्तलाई फुटाल्दै, चुडाल्दै । लगातार त्यसले हावा फुकीरह्यो मेरो नजिकैबाट । त्यो ’वेइ’ को तरङ्ग । जसका ओठ काँपी रहेछन् धैर्यताको बाण भाँच्दै । त्यो कालो अँध्यारोमा निकै नजिकै भइरह्यो कोही । मभित्र नशा चढिरह्यो, चढिरह्यो । केवल चढी मात्र रह्यो । म नशाले लुली भइरहें । अचानक याद आउछ त्यो अनौठो भाव जुन आशाबिहिन भएर दिएको चुम्बन थियो, जुन बिचित्र ढङ्गले मुटु छातीभरि बिझाइ रहेछ ।
हतार गरेर मैनको लालटिन जलाउँछु । एक पलभर मै त्यो कालोको ठाउँ प्रकाशले लिन्छ । मन्ध मन्ध पहेलो उज्यालो मेरा कोठाभरी छरियो । गालामा एक बिन्दु बने झैँ चिसो लाग्छ । हातका औँलाले छुन्छु, हेर्छु त्यो पानी जस्तो पारदर्शी तरल आँसु हो त्यो । मन पोल्न थाल्यो, फुल्लिन थाल्यो । एक झिनो प्यास जाग्यो मायाको । माधुर्यातामा मन हुँडलिन थाल्यो त्यो पानीको थोप्लोले । थाहै नपाई मेरा आँखाले कहिले आँशु छोडेछन्, पत्तै पाइनछु । आँखा एकैनासमा बगिरहे अबीरल वर्षा झैँ । म चाहन्थेँ कि ‘ऊ आओस्’ तर मलाई थाहा छ ‘कोही पनि आउने छैन अब ।’ मात्र गुहारी रहेँ त्यो ‘बी’ लाई । ‘मनभरि टासीरहुँ’ जस्तो अथाह प्रेम जागीरह्यो, जति आँसु पोखिए सरी ।
जे भन्न चाहन्थेँ त्यो व्यक्त गर्न सकिनँ । जेजे देखेँ ती अनौठो भावमा मात्र सीमित रहे । कस्तो छ उसको मुहार ? त्यहाँ कोहि थियो पनि ? के थ्यो त्यो ? जे मैले अनुभूति गरेँ त्यो निकै असैह्य दु:ख र पीडाभन्दा बाहेक अरू केही छैन । म मात्र अनुभूति गर्छु एक्लैको, एकान्तपनको । अब बाँकी केही छैन । ‘ऊ छ’ भन्नु र ‘मैले कसैलाई खोजिरहेछु’ भन्नुको अब कुनै अर्थ छैन । तब पनि म मनभित्रबाट छियाछिया भएकी छु । म के गरूँ ? कहाँ जाम्? त्यो के हो जसले मलाई चैन दिइरहेको छैन ?
पत्तो पाउदिनँ ‘के लेख्दैछन् मेरा औँलाहरु ? सपना सकिएको केही समयपछि त्यो सबै बिर्सिन्छु । त्येसैले त म जोड लगाई लगाई सम्झिन र सम्झिदै लेख्न बाध्य छु, ता कि पछिल्लो कुरा याद रहोस् । वस् म यस जालबाट निस्कन चाहन्छु । सक्दिनँ म सधैँ यसरी जिउदो लास झैँ बाँचिरहन । फेरी एकपटक पछाडिका पन्ना पल्टाउँछु । हेर्छु, थाहा पाउँछु उसको नाम ‘बी’ हो, ऊ मौरी हो जसका लागि म फूल बन्न सकिनँ र सक्ने पनि छैन । ‘बी’ शब्दको उच्चारणले नै मेरा शरीरभरि जिरिङ्ग काँडा उठेर आउँछ । यस्तो लाग्छ कि पहिलेदेखि नै मैले उसलाई चिन्थेँ । निकै माया मोह छ हामी दुईबीच एकार्काको लागि । अझै पनि विश्वास लाग्दैन ‘त्यो सपना थियो ।’ कस्तो बैराग छुट्दो भयानक सपना देखिछु, जो मलाई अझै पनि वास्तविक लागिरहेछ ।
पाठक वा श्रोताले यस कुरालाई बीश्वास गरिरहनु पर्छ जस्तो मलाई लाग्दैन किनकी यो सपना मात्र हो । मेरो मनको एक्लोपनको बेचैनी मात्र हो जुन मैले देख्छु र भोग्छु । अनि छटपटिन्छु श्वास फुस्किन लागेको अर्धमृत झैँ । कसको हिम्मत, यहाँ जसले सपनामा भेटिएका जोडीलाई भौतिकवादमा मिलाउने प्रयास गरोस् । बी, कतै तिमी यसलाई झुक्किएरै पढेका पनि छौ भने मलाई माफ गर म तिम्रा नाममा सपना देखेँझैं गरी कथा रचिरहेछु र मनभित्र तिम्रा निम्ति अथाह प्रेम समेटेकी छु । म यति मात्र जान्न चाहन्छु के तिमीले त्यो सबै सुनेका थियौ जे मेरा मनहरु तिमीलाई केही सुनाउदै थिए ?
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु