विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं / आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने भएका छन्।

उनीहरुले बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनःस्थापना र पुनर्निर्माणमा लाग्न सरकारसँग माग गर्न लागेका हुन्।

Advertisement:

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका दलले ज्ञापनपत्र बुझाउन लागेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार अपरान्ह साढे ४ बजे प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्ने कार्यक्रम तय भएको छ।

माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदलले ज्ञापनपत्रको मस्यौदा तयार पारेको छ। विज्ञले बेलैमा सचेत गराउँदा पनि सरकारको लापरबाहीले जनधनको ठूलो क्षति भएको निष्कर्षसहित विपक्षी दलहरूले पीडितलाई तत्काल राहत उपलब्ध गराउन ज्ञापनपत्र बुझाउन लागेको कार्यदलका सदस्य एवं रास्वपा नेता खनालले बताए।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको तयारी छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत शुक्रबार बसेको विपक्षी दलहरूको बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस् :