प्रीय धरान !

Rajesh Khotange

— राजेश खोटाङ्गे

प्रीय धरान !
मलाई थाहा छ
तिमी यति बेला केही अस्वस्थ छौ ।
सन्चै छौ नि ?
भनेर सोधौं भने पनि
तिमीलाई खिसी ट्युरी गरेको जस्तो हुनेछ
अनि नसोधौं भने पनि मनमा छट्पटी छ ।
२०४० सालदेखि
पटक पटक कोनेपोखरीबाट
कोशी बस चढेर
भानुचोकमा झरेर
मैले तिम्रो आँगनको बाटो हुँदै
फुस्रे पुगेर
सर्दु र लाम्पाते खोलाको पानी अञ्जुले पिउँदै
घण्टौं उकालो हिँडेर
साँगुरी भञ्ज्याङ् छिचोलेर
तमोर नदीको ओरालो तर्फ झरेको स्मृतिमा ताजै छ ।
लामो समयको अन्तरालमा
चार वर्षअघि काम विषेशले त्यता आएँ
तिम्रो मुहार धेरै परिवर्तन भएको रहेछ ।
लाहुरेहरुको बसोबास भएकोले
तिमी पहिल्यै पनि सफा थियौ
मर्यादित र सभ्य शहरको रुपमा परिचित थियौ
तथाकथित गणतन्त्र
आए पश्चात् अझै सुन्दर भएछौ
गत सालको स्थानीय निर्वाचनपछि त झन् तिम्रो मुहारमा
अझै ठूलो उमङ्ग र उत्साह आउँदै थियोे
तर अचानक
केही दिन यता तिम्रो त्यो सुन्दर अनि निर्दाेष मुहारमा
तेजाब पोखिने पो हो कि भन्ने भय र त्रास छ ।
प्रीय धरान !
हिजोसम्म
सबै जातजाति
सबै धर्मावलम्बी
सबै चाडपर्व र
सबै भेष–भूसालाई समेटेर अघि बढ्दै थियौ
तर केही दिन यता तिमीलाई मानसिक तनाव दिँदैछ ।
यो तनावबाट मुक्त हुन
एउटा सजिलो उपाय छ
आफ्ना सन्ततिलाई कुनै पनि राजनैतिक पार्टीहरुको
कुरा नुसुन्न र इशारामा नचल्न उर्दी जारी गर्नुपर्छ ।
प्रीय धरान !
प्रकृति र सम्पदाले भरिपूर्ण तिमी
विकास र बिचारले सम्पन्न तिमी
चिर कालसम्म पनि
सुखी सुन्दर र समृद्ध धरान भएर नै रहनुपर्छ है
कोही कसैले पनि
आफ्नो स्वार्थ पूरा गर्न तिम्रो मझेरीमा
खाल्डो नखनोस् ।

Advertisement:Rajesh Khotange

प्रतिक्रिया दिनुहोस् :