विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु
काठमाडौं, तातोखबर : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक, जुम्ला, नुवाकोट र नवलपरासी पूर्वमा भएका सवारी दुर्घटनमा उनीहरूको मृत्यु भएको हो।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ पाँचकिलोस्थित सडकमा बा १५च९३७० नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा चालक काठमाडौं नागार्जुन नगरपालिका-४ घर भएका ३६ वर्षीय उत्तम महर्जन र स्कार्पियोमा सवार बाह्रविसे नगरपालिका-७ घुम्थाङ बस्ने ४१ वर्षीय बल बहादुर खत्री रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका उनीहरूको सिन्धु सदाबाहार अस्पताल खाडीचौरमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका स्कार्पियोमा सवार ४ जनालाई उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ।
त्यस्तै, जुम्ला कनकासुन्दरी गाउँपालिका-४ स्थित सडकमा भे १ज १०९९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जीपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ। उनीहरूको सनाखत हुन बाँकी रहेको पनि प्रहरीले जनाएको छ।
त्यस्तै, नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीस्थित उत्तरगया हार्डवयरको बालुवा डिपोमा बा ४ख४३४२ नम्बरको टिपर बालुवा लोड गर्दा ब्याक गर्ने क्रममा टिपरको टायरले किच्चिएर रसुवा उत्तरगया गाउँपालिका-१ गोगनी घर भएका ३७ वर्षीय कामी तामाङको शनिबार दिउँसो मृत्यु भएको छ।
टिपरको टायरले किँचिदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशूलीमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-२ नारायणी पुलस्थित सडकमा बागमती प्रदेश ०६-०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा चालक चितवन भरतपुर महानगरपालिका-२८ बस्ने २८ वर्षीय नारायण ढकालको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
उल्लिखित सबै दुर्घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।