बागमती प्रदेश सभाको बैठक आज पनि बस्दै

मकवानपुर – बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

उक्त बैठकमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने र प्रदेश मामिला समितिमा छलफलको लागि पठाउने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

Advertisement:

उक्त विधेयकमाथि आइतबार बसेको प्रदेश सभामा सौद्धान्तिक छलफल भएको थियो । प्रदेश सभाका सदस्य क्रमशः रमा आले मगर, सुरेन्द्रराज गोरसाईँ, सृजना सैजू, मधुसुदन प्रसाद पौडेल, बसन्त मानन्धरलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

छलफलको क्रममा प्रदेश सभाका सदस्यहरुले सरकारद्वारा प्रस्तुत गरिएको सो विधेयक प्रशंसनीय रहेको बताउँदै प्रदेशको अन्य जिल्लामा रहेका सुनुवार, जिरेल र मगर भाषाकालाई पनि उथान गर्नुपर्नेमा जोड दिएको थियो ।

उनीहरुले नेवारी परम्परा अनुसारको जात्रा पर्वलाई सम्पदा सूचीमा संरक्षण गर्नेतर्फ पनि प्रदेश सरकारको दीर्घकाली रुपमा प्रभाव पार्ने कार्यलाई तीब्रता दिनुपर्ने बताए ।

उक्त विधेयक संस्कृतिक, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सौद्धान्तिक छलफल गरियोस् भनि संसदमा प्रस्ताव टेबुल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् :