बझाङ भुकम्प: घर पूर्णरुपमा क्षति भएकालाई तत्काल ५० हजार राहत दिने
काठमाडौं – बझाङमा भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप सरकारले ५० हजार रुपैयाँ राहत दिने भएको छ ।
भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राहत, पुर्नस्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम दिने घोषणा गरेका हुन् ।
यस्तै, भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च दिने भएको छ ।
राहत सामग्रीहरू जस्तैः पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गरिनेछ भने थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ ।
साथै भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाएको जनाइएको छ । यस्तै, भूकम्पमा परेर मृत्यु भएकाको परिवारलाई तत्काल २ लाख सहयोग दिने भएको छ ।