आजको अवस्थाप्रति देशको नेतृत्व चिन्तित नहुने नै हो त ?
– ताराबहादुर कोईराला
देश झन् जटिलभन्दा जटिल परिस्थितिमा फस्दै गैरहेको छ । राजनीति दिशाहीन, राजनीतिज्ञ दृष्टि बिहिन र जनता भ्रममा देखिन्छन् । राणा शाहीदेखि, पञ्चायत र निरंकुश राजतन्त्रसम्म प्रजातन्त्र, स्वतन्त्रता र नेपाली जनताको उज्ज्वल भविष्यका लागि मरिमेटेका राजनीतिक दलका नेता कार्यकर्ता शिर घोप्ट्याएर हिड्नु पर्ने अवस्था सृजना भएको छ ।
सामाजिक सद्भाव, आपसी सम्मान र प्रेम कमजोर बन्दै गईरहेको छ । धर्म र जातको नाममा अतिवादी चिन्तन, चासो र गतिविधि बढेर गैरहेको छ । इष्र्या, द्वयस् र आक्रोशले नेपाली मनहरु आक्रान्त हुन थालेका छन् । एउटै अखडाबाट झगडाका बुटीहरु बाडेर नेपाली मन भाड्ने प्रयास भैरहेको छ ।
राज्य कमजोर बनेर न्याय, सुशासन र सेवा–सुविधा दिन नसक्दा रवि लामिछाने र ज्ञानेन्द्र शाहिहरु जन्मिए । पार्र्टीभित्र न्याय र विवेक मर्दा बालेन र हर्क साङपाङलाई जनताले भोट खसाले । कोही मन्त्री बने, कति मेयर बने । त्यतिले नपुगेर दुर्गा प्रशाईलाई माननीय बनाउने अर्को अवसर प्रदान गरिदैछ । न नीति न नेतृत्व, न भविष्य न भरोसा । राजनीति विकृतिबाट पीडित बन्न पुगेका मानिसहरु उनको पछि लागेका छन् । अमर्यादित, अभद्र र उदण्ड गतिविधि सञ्चालन गरेर चर्चा पाएको यो चरित्र र प्रबृत्तिलाई मुलुकले कहिलेसम्म व्यहोर्नु पर्ने हो ? दुर्गा प्रसाईंको बिरुद्धमा सिङ्गो प्रतिपक्ष एमाले र स्वयम् खड्ग वली न्वारानदेखिको बल निकालेर लाग्नु पर्ने भएको छ ।
“महान्’’ प्रचण्ड तीन न तेह्रको प्रसाईंसँग डराएर पुर्व राजालाई मुख छोडन थालेका छन् । सर्वदलीय बैठकको सहारा चाहिएको छ । किन हो शेरबहादुर चुप छन् । कमरेडहरुले मार्सी धानको भात त गाज काडी–काडी खानु भएको थियो । धोतीको जुम्रालाई टुपीमा पुर्याउदाको परिणाम भोगिरहनु भएको छ । अहिले छेरपाटी चल्दा कस्तो लागेको छ ? नेकपा एमाले भर्सेस दुर्गा प्रसाईंको लाप्पामा एमाले जित्यो भने त ठिकै होला । उपलब्धि केहि नभए पनि लाज पचाउने सम्मको काम होला तर दुर्गा प्रसाईं पक्षले जित्यो भने एमाले त मङ्सिर ७ मै परमधाम गए हुन्छ । यसको असली मुल्य बर्तमान लोकतान्त्रिक व्यवस्था र देशले चुकाउनु पर्ने छ ।
समादरणीय, नेताहरु ! सेर बहादुर देउवा, खड्ग वली र प्रचण्ड ज्यू, तपाईंहरूको चेत कहिले खुल्छ ? तपाईंहरू आफूले गरेका कामको कहिल्यै आत्मा मुल्याङ्कन र आत्मासमीक्षा गर्नु भएको छ ? सगरमाथाको शिखरबाट गुल्टिएर सल्लेरीको धान्द्रातिर अड्किएको मालुम छ कि छैन ? राजा त फाल्नु भयो तर आफु महाराजा बनेर असङ्ख्या रजौटा खडा गरेको याद छ ? राजाका मण्डललेहरुलाई त २०४६ देखि भोकै पारेर बहुलाह बनाउनु भयो । आफ्ना मण्डललेहरुको बिगबिगी देख्नु भएको छ कि छैन ? न्याय, प्रशासन र सुरक्षाका अतिरिक्त जन सेवाका समग्र निकायहरुलाई निकम्मा र प्रभावहीन बनाएको सम्झना छ ?
विभिन्न प्रतिवेदन र प्रमाणले दोषी देखिएका माधव नेपाल र बाबुराम भट्टराईलाई थुन्नु हुन्न । बिचरा गाई प्राणी चन्द्रदेव जोसीलाई मुद्दा लाग्छ । आदेश मान्ने सचिव र कारिन्दा जेल पर्छन् । बालकृष्ण खाँडको बोल्दिने कोहि भएनछन जेलमै छन् । गिरिजाप्रसाद कोईरालालाई प्रधानमन्त्रीबाट फालेर आफु प्रधानमन्त्री बन्न दिल्ली दरबार पुगेर एमाले पल्टन लम्पसार परेपछि नेपालको परराष्ट्र सब्दकोषमा लम्पसारबादको नयाँ शब्दनै श्रीजना भयो । यसमा पनि नयाँ आयामहरु थप्दै जानु भयो । राष्ट्रिय स्वाभिमान, आत्मासम्मान, गौरव र गरिमाको स्मरण कहिले भयो ? नेपाल राष्ट्रको प्रतिष्ठा कहाँ पु¥याउनु भयो ?
देश आर्थिकरुपमा टाट पल्टने अवस्थामा छ, विज्ञहरू भनिरहेका छन् । देशमा रोजगारी छैन । बन्द ब्यपार, उद्योग–धन्धा र पर्यटन लगायतका सबै ब्यबसाय चौपट छ । आन्तरिक रोजगारी छैन । अमेरिका, युरोप, खाडी, मलेसिया र दक्षिण कोरिया लगायतका देशहरू बैकल्पिक रोजगारीका गन्तव्य थिए । इजरायल हमास र युक्रेन रसियाको युद्ध लम्बियो र बिस्तार भयो भने सबै फर्कनु पर्ने अबस्था आउछ । रोजगारीको समस्या झन् विकराल बन्ने छ । युद्धमा फसेका दातृ राष्ट्रहरू नेपाललाई सहयोग गर्ने अबस्थामा हुदैनन् । देश कसरी चल्छ ।
श्रीमान प्रचण्ड, अब समय इतिहासको स्मरण गरेर जनयुद्धको आत्मारतीमा रमाउने बेला छैन । जनयुद्धको कमाई तपाईं र तपाईंका सेनामेनाले खाई सकेको छ । आवश्यकताभन्दा बढी नै असुल गरिसक्नु भएको छ । अब दुर्गा प्रसाईको पछि लाग्ने होईन मुलुक बनाउन लाग्नुस् ।