विश्वब्यापी आर्थिक मन्दिको त्राससँगै बीमा आर्थिक सुरक्षा प्रणाली अपनाउन आग्रह

अमेरिका, १६ मंसिर / विश्वभर आर्थिक मन्दिको प्रभाव बढीरहेको बेला व्यवसायीहरु चनाखो हुनु पर्नेमा अमेरिकामा बसोबास गर्ने नेपालीले बीमा सुरक्षा प्रणाली अपनाउन आग्रह गर्न थालेका छन् । अमेरिकामा बीमा अभिकर्ताको रुपमा काम गर्दै आएका अनु तामाङलगातका नेपालीले बीमा प्रणालीमा जोडिएर आर्थिंक सुरक्षा अपनाउन आग्रह गरेका हुन् ।

बीमा प्रणालीमा जोडिएपछि आफ्नो आर्थिक सुरक्षा कसरी हुन सक्छ ? भन्ने विषयमा बीमासम्बन्धी साक्षरता जागरण हुन सके आर्थिक मन्दिको त्रासबाट समेत लाभग्राहीहरुले चिन्ता मान्न नपर्ने मेडिकल सहायकका रुपमा समेत काम गर्दै आईरहेकी बीमा अभिकर्ता अनु तामाङको धारणा छ । धेरै जसो नेपाली बसोबास गर्ने अमेरिकाको टेक्सस राज्यमा झण्डै एक दशकदेखि बस्दै आएकी घरजग्गा व्यवसायी समेत रहेकी अनुतामाङ बीमाबाट लिन सकिने लाभका विषयमा बीमा अभिकर्ता र लाभग्राहीहरुलाई ध्यान दिन आमसञ्चार माध्यमहरुमार्फत ध्यानाकर्षण गराउन थालेकी छिन् ।

Advertisement:

बीमा अभिकर्ता भएर अतिरिक्त आम्दानी लिन सकिने र रोजगारको विकल्प बीमा अभिकर्ताको आंशिक समय हुने भएकोले यससम्बन्धी तालिम लिन विद्यार्थीहरुलाई उनको सुझाव छ । यसले विद्यार्थीहरु आफू पनि बीमित बन्ने र अरुको बीमा गरिदिने सुविधा दिन सक्षम हुने मान्यता राख्छिन् । बीमा के हो र बीमा कसरी गरिन्छ ? भन्ने विषयमा विद्यार्थीहरुमा प्रस्तावित लाभग्राहीहरुलाई राम्ररी प्रष्ट पार्न सक्ने क्षमताको विकास हुन जरुरी रहेको पनि उनी बताउँछिन् । बीमा अभिकर्ता भएर सेवा दिन थालेयता आफूबाट बनेका लाभग्राहीहरु सन्तुष्ट रहेको पनि अनु तामाङ बताउँछिन् ।

मेडिकल विषयमा अध्ययन शुरु गर्नुअघि रेष्टुरेण्टमा सेवा गदै उनले युनिभर्सिटी अफ आर्लिङ्टनबाट मेडिकल सहायकसम्बन्धी पाठ्यक्रम पूरा गरेर मेडिकल सहायकको रुपमा काम गर्दै गएको ४ वर्षदेखि रियलस्टेट व्यवसाय पनि सञ्चालन गरेर आफे्नो आम्दानी बृद्धि गर्दै आएकी छिन् । उनले मानिसले इच्छाशक्तिका साथ काम गर्ने हो भने जस्तो सुकै कामले पनि सफलता दिलाउन सक्ने अनुभव बटुलेकी छिन् ।

मेडिकल पेशामा सक्रीय रहदा नै रियलस्टेट व्यवसाय अङ्गाल्न के कुराले प्रेरित गर्यो ?भनेर राखिएको जिज्ञाषामा अनु भन्छिन् ‘मैले पहिलेदेखि नै बुझेको कुरा के थियो भने घर भनेको मान्छेको लागि आधारभूत आवश्यकता हो र यो एक पटकमा मात्रै निर्माण गरिन्छ भन्ने बुझेको थिएँ । आफ्नो नाममा एउटा आवास गृह हुनु पर्छ भन्नेमा मेरो झुकाव थियो । यो पेशामा आउँनु अघि मैले आफ्नो परिवारका लागि एउटा घर खरिद गरेँ । घर खरिद गर्दा आफ्नो नाममा दर्ता गर्ने प्रकृया सहज ढङ्गले पूरा भयो । अरु कोही घर जग्गा खरिद गर्न इच्छुक ब्यक्तिहरु पनि मैले जस्तै गरी यस्तो सेवा लिन सक्छन् र मेरो लागि पनि एउटा नयाँ व्यवसाय हुन्छ भन्ने सोचेर म घरजग्गा खरिदबिक्री पेशामा क्रियाशली रहन थालेँ ।’

घरजग्गा कारोबार व्यवसायसँगै आर्थिक सुरक्षाको भरपर्दो प्रणाली बीमामा जोडिएकी अनु तामाङले बीमा अभिकर्ताको रुपमा पनि चिनिन्छिन् । आफैंमा एउटा मिजासिलो पन र सेवाग्राहरु रिझाउने गुण आफूमा भयो र इमान्दारिता भयो भने जुन सुकै पेशाबाट पनि सफलता लिन सकिने अनु तामाङ्को बुझाई छ । उनको भनाईअनुसार जुनसुकै पेशा वा व्यवसाय गरेपछि मानिसले त्यसको गहन सीप, प्रविधि र विकसित अवस्थाको विषयमा चासो दिनु आवश्यक छ ।

(— सोनिशा थापा, टेक्सस अमेरिका)

प्रतिक्रिया दिनुहोस् :