हङकङले नेपाललाई दियो २ सय १३ रनको लक्ष्य

तातोखबर, काठमाडौँ / नेपालविरुद्धको टी–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हङकङले २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ सुरु गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको छ ।

बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य प्रस्तुत गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९ बलमा ११० रन बनाएका हुन् । उनले यसक्रममा ३ चौका र १३ छक्का प्रहार गर्न सफल भए । एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए ।

Advertisement:

अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए । अन्सी राथले ३२ बलमा ३९ रन बनाउँदै प्रतिश जिसीको बलमा आउट भएका हुन् ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विवके यादव, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विनोद भण्डारी, प्रतिश जिसी, सागर ढकाल, रासिद खान र आकाश चन्द रहेका छन् ।

त्रिकोणात्मक शृंखला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको थियो । नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसँग खेल्ने छ ।  यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्ने तालिका छ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस् :